भ्रष्टाचारविरोधी आन्दोलनको समर्थनमा एक महिनासम्म खाली खुट्टा हिंडेर सुर्खेतदेखि काठमाडौं आइपुगेका नवराज बोहराले सरकारको ढोका ढकढकाउन प्रयास गरिरहेका छन् ।

तर ठूलो भ्रष्टाचारको कुरा नसुनेको सरकारको सामु बोहराका असन्तुष्टि अनि माग सम्बोधन होला त जनजनको जिज्ञाषा छ ।

जेठ ४ गते सुर्खेतबाट सुरु गरेको पैदल यात्रा पछि असार २ गते साँझ काठमाडौं आइपुगेका बोहरा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगे ।

तर प्रधानमन्त्री ओलीसँगको भेट हुन सकेन । बोहरासँग प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकार किरण पौडेलले कुरा गरेका थिए ।


गेटसम्म खाली खुट्टा पुगेका बोहरालाई प्रहरीले सुरक्षा घेरा गर्दै प्रधानमन्त्रीको कार्यालयसम्म पुर्यायो । बाहिर निस्कँदा भने बोहरा जुत्ता लगाएर बाहिरिए ।
“उहाँलाई एकजोड जुत्ता उपहार स्वरूप प्रदान गरियो । अनसन तोड्दा जुस खुवाएजस्तै उहाँको आन्दोलनको प्रतीकको रुपमा जुत्ता प्रदान गरिएको हो । साथमा माग सम्बोधन गरिने आश्वासन पनि गरिएको छ ।” प्रधानमन्त्री सचिवालयको एक सदस्यले जानकारी दिए ।
जुत्ता प्रधानमन्त्री कार्यालयको तर्फबाट नै प्रदान गरिएको थियो ।

