Aamsanchar

सुतेको बेला घुर्नु : समस्या, कारण, उपचार

Author Image
मङ्गलवार, असार ३, २०८२

सुतेको बेला घुर्नुलाई सामान्य कुरा ठाने पनि यो स्वास्थ्यको लागि घातक हुन सक्नेतिर चिकित्सकको ध्यान गएको छ ।

चिकित्सकहरू भन्छन्, घुर्नु मुख्यतया श्वास नली साँघुरो हुँदा हुन्छ । श्वास नली अनेक कारणमा भर पर्छ – उदाहरणार्थ टनसिल ठूलो हुनाले, मुख खोली श्वास लिंदै जिब्रो पछाडि पर्दा, अनुवंशिक कारक, असन्तुलित चिउँडोको हड्डी आदिले घुर्न सक्छ ।

चिकित्सकको अनुसार, सय जनामा लगभग १५ देखि २० जनामा यो समस्या देखिन्छ । यो समस्या अधिकतर ५० वर्ष नाघेका, अधिक तौल भएका, अधिक मदिरापान गर्ने पुरुषमा बढी हुन्छ ।

जटिलता :
समयमा उपचार गरिएन भने घुर्नाले शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ । फलस्वरूप उच्च रक्तचाप, मधुमेह, पक्षघात, हृदयाघात, श्वास असन्तुलन, चिडचिडापन, मानसिक असन्तुलन, थकित अनुभूति, यहाँसम्म कि यौन क्षमता घट्न सक्नेतिर चिकित्सकको भनाइ छ ।

चिन्नुपर्ने लक्षण :

घुर्दै असन्तुलित श्वास हुनुलाई मुख्य लक्षण मान्न सकिन्छ । घाँटी सुख्खा हुनुलाई पनि असन्तुलित श्वासको सूचकको रूपमा लिइन्छ । बिहान टाउको भारी हुन, चिडचिडापन हुन, असन्तुलित निन्द्रा हुन सक्छ ।

चिकित्सकको परामर्श :
यदि घुर्ने समस्या असामान्य छ, श्वास बारम्बार अड्किन्छ, उच्च घुर्नाले जीवनस्तर प्रभावित गरिरहेको छ भने चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।

उपचार :

जीवन शैली सुधार, तौल नियन्त्रण, मदिरापान त्याग, शारीरिक व्यायाम गर्नुपर्ने हुन्छ । इण्डोस्कोपी जाँच पछि शल्यचिकित्साद्वारा श्वास मार्ग खुलाउन सकिन्छ । अधिक समस्या भएकाहरूलाई श्वास लिन मद्दत गर्ने “सिप्याप” नामको मेसिन लगाउनुपर्ने हुन सक्छ ।

खर्च :

शल्यचिकित्सामा लगभग ५०–६० हजार रुपैयाँ खर्च हुन सक्छ । सिप्यापको मूल्य ८० हजार देखि डेढ लाखसम्म पर्न सक्छ ।

चिकित्सकको सल्लाह :
स्वस्थ जीवन शैली अपनाउनुपर्ने, बाहिरी अस्वस्थ भोजन त्याग्नुपर्ने, शारीरिक व्यायाम गर्नुपर्ने, समस्या सुरु हुनासाथ चिकित्सकको परामर्श लिनुपर्ने कुरा विज्ञको सल्लाह छ ।

Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर