Aamsanchar

पाटन उच्च अदालतको अन्तरिम आदेश : प्रहरी प्रमुख पाण्डेको निलम्बन तत्काल कार्यान्वयन नगर्नू

Author Image
बुधवार, असार ४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका अन्तर्गतका प्रहरी प्रमुख राजुनाथ पाण्डे फेरि पदमै फर्कन सक्ने आधार बनेको छ। पाटन उच्च अदालतले उनलाई निलम्बन गर्ने महानगरको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले बिहीबार दिएको अन्तरिम आदेशमा पाण्डेलाई पदबाट हटाउने विषयमा तत्कालीन आवश्यकताको पुष्टि नभएको उल्लेख गरिएको छ। अदालतको आदेश अनुसार, पाण्डे फिलहाल पदमै रही नियमित कामकाज गर्न पाउनेछन्।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए। सो निर्णयविरुद्ध पाण्डेले जेठ २७ गते उच्च अदालत पाटनमा उत्प्रेषणको रिट दायर गरेका थिए।

अदालतको आदेशमा भनिएको छ, “महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग रहेको र सोही आदेशको पालना गर्नु प्रहरीको कर्तव्य हो भन्ने कुरा निवेदकले इन्कार गरेको देखिँदैन। तथापि, सोही परिप्रेक्ष्यमा जाँचबुझ समिति गठन गरिएको अवस्थामा तत्काल निलम्बन गर्नु पर्ने अवस्था देखिएन।”

निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि पाण्डेले आफ्नो जिम्मेवारी निर्वाह गर्न पाउने व्यवस्था अदालतले मिलाएको छ। यससँगै महानगर प्रहरी नेतृत्वमा देखिएको अन्योल केही समयका लागि हटेको छ भने, पाण्डेले कानुनी लडाइँमा प्रारम्भिक सफलता हात पारेका छन्।

Views: 73

प्रतिक्रिया (०)