Aamsanchar

बीपी राजमार्ग पात्लेखेत पहिरो क्षेत्रमा एकतर्फी यातायात सञ्चालन

Author Image
बुधवार, असार ४, २०८२

काभ्रेपलाञ्चोक ।  काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमामाथिबाट बुधबार साँझ खसेको लेदोसहितको पहिरोले बीपी राजमार्गको एक भाग अवरुद्ध बनेपछि सवारी आवागमन एकतर्फी मात्रै सञ्चालनमा आएको छ।

अविरल वर्षासँगै साँझ ५ बजेतिर आएको पहिरोका कारण सडक अवरुद्ध भएपछि अहिले जेसीबी प्रयोग गरेर दुबैतर्फ सवारी सुचारू गराउने प्रयास भइरहेको अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका प्रमुख, वरिष्ठ सई कुलबहादुर कुँवरले जानकारी दिए।

‘एकतर्फी सवारी सञ्चालन भइरहे पनि पूर्णरुपमा सडक खुलाउने प्रयास जारी छ’, उनले भने, ‘पात्लेखेतमामाथिबाट आएको पहिरोले सडकमा ठूलो मात्रामा लेदो जम्मा भएको छ।’

गतवर्षको असोज दोस्रो सातामा पनि यस्तै प्रकृतिको बाढीपहिरोले बीपी राजमार्गको सो क्षेत्रलाई क्षतविक्षत बनाएको थियो।

यात्रु सुरक्षालाई मध्यनजर राख्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेले वर्षायाममा राजमार्ग प्रयोग गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। कार्यालय प्रमुख सुनिल धुजुले मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेका छन्।

Views: 64

प्रतिक्रिया (०)