Aamsanchar

प्रदेश सभा खारेजको माग गर्दै धुलिखेल नगरपालिकाको सर्वसम्मत प्रस्ताव, संघीय संरचनामाथि पुन : बहसको संकेत

Author Image
शुक्रवार, असार ६, २०८२

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संघीय संरचनामाथि प्रश्न उठाउँदै ऐतिहासिक निर्णय गरेको छ। नगरपालिकाको १७ औँ नगरसभा अधिवेशनबाट प्रदेश सभा खारेज गर्न संघीय सरकारलाई औपचारिक अनुरोध गर्ने निर्णय सर्वसम्मत रूपमा पारित भएको हो।

नगरसभा सदस्य तथा वडा नं. २ का वडा अध्यक्ष अर्जुन न्यौपानेद्वारा प्रस्तुत “प्रदेश खारेज” सम्बन्धी प्रस्तावमा प्रदेश तहको औचित्यमाथि गम्भीर प्रश्न उठाउँदै उक्त संरचनाको पुनर्विचार गर्नुपर्ने औचित्य प्रस्तुत गरिएको थियो। प्रस्तावमा उल्लेख गरिएको छ कि, “वर्तमान प्रदेश सरकारहरू जनउत्तरदायी, प्रभावकारी र लागत–लाभ विश्लेषणमा असफल देखिएका छन्।“

नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्दै लेखेका छन्, “धुलिखेल नगरको १७औँ अधिवेशनबाट प्रदेश सभा खारेज गर्न संघीय सरकारलाई अनुरोध गर्ने भनी नगरसभा सदस्य अर्जुन न्यौपानेद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ।”

उक्त अधिवेशनमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू तथा अन्य सम्पूर्ण नगरसभा सदस्यहरूको पूर्ण उपस्थिति रहेको थियो। निर्णयलाई नीतिगत सन्देशका रूपमा लिएर स्थानीय तहबाट प्रदेश तहप्रति देखिएको असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरिएको हो।

स्थानीय सरकार तथा आम जनताको धारणा अनुसार, केन्द्र सरकारले जबर्जस्ती थोपरेको प्रदेश संरचना खर्चिलो, अव्यवहारिक र जनअपेक्षा विपरित देखिएको छ। प्रदेश सरकारको दोहोरो प्रशासन, दोहोरो खर्च र जिम्मेवारीको अस्पष्टताको कारण मुलुक आर्थिक भारमा थला परिरहेको जनप्रतिनिधिहरूको बुझाइ छ।

यो निर्णयले राष्ट्रिय तहमा संघीयताको पुनर्समीक्षा तथा प्रदेश तहको औचित्यमाथि नयाँ बहसको ढोका खोलेको विश्लेषकहरूले बताएका छन्।

Views: 90

प्रतिक्रिया (०)

सम्बन्धित खबर