बर्को आदर्शको अोडी छाँटी निर्मल भाषण
भित्रभित्रै गनाएको छुसी मानिस छुस्कर

मीठो वचन बोल्दैन,खोल्दैन ममता तर
तुच्छ शब्द सधैँ जप्छ,नर वा–नर छुस्कर

सङ्कीर्ण वृत्तमा मात्रै घुम्दो रैछ निरन्तर
छुल्याइँमा खुसी मान्दै“म ठूलो“ भन्छ छुस्कर

छिर्के दाउ लगाएर आगो बाल्दछ हर्हर
नम्रताको गला रेटी धाक लाउँछ छुस्कर


स्रष्टाको सिर्जना नै हो तर कस्तो विचित्र छ
तनमा फूल देखिन्छ काँडाघारी छ छुस्कर
चट्याङसरि चड्कन्छ चट्टानै हो कि दानव
अट्टहास गरी आफैँ गमक्क पर्छ छुस्कर
अगुल्टो शब्दमा बोल्छ डढेलो तुल्य वाक्य छ
ज्वालामुखी परिच्छेद रचना गर्छ छुस्कर
आफू नेपथ्यमा बस्दै परिचालन गर्दछ
मन्द जहर घोलेर शब्द बाँड्दछ छुस्कर
बाघको मुटु बोकेर बुद्धको गीत गाउँछ
जम्मै जङ्गल मेरै हो भन्दै गर्जन्छ छुस्कर
यस्तो दुच्छर को जन्तु भन्नु होला महाशय !
तपाईं वा म आफू नै हो कि होइन छुस्कर ?
Views: 162

