Aamsanchar

दमक नगरपालिकाले लुडो र क्यारेमबोर्ड खेल्न प्रतिवन्ध लगायो

Author Image
सोमवार, असार ९, २०८२

झापा । दमक नगरपालिकाले शहर बजार क्षेत्रमा लुडो र क्यारेमबोर्ड खेलमा प्रतिबन्ध लगाएको छ। नगर प्रमुख रामकुमार थापाका अनुसार पछिल्लो समय यी खेलहरू जुवाजन्य गतिविधिका रूपमा परिणत हुँदै गएपछि नियन्त्रण गर्न बाध्य भएर प्रतिबन्धको निर्णय लिइएको हो।

नगरपालिकाले सर्वपक्षीय छलफलपछि यस्तो निर्णय लिएको जनाइएको छ। छलफलमा सहभागीहरूको भनाइमा लुडो र क्यारेमबोर्ड सामान्य खेल भए पनि बजार, गल्ली तथा चोकचोकमा ठूलो धनराशीको हारजितमा आधारित जुवाको शैलीमा खेलिने गरेको देखिएको हो। त्यसले छरछिमेक, बालबालिकासम्म असर पार्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको थियो।

नगर प्रमुख थापाले भन्नुभयो, “बिकृती नियन्त्रण गर्न यस प्रकारका खेलहरूमा प्रतिबन्ध लगाउनुपरेको हो। अबदेखि सार्वजनिक स्थानमा यस्ता गतिविधि दोहोरिए कारबाही हुनेछ।”

निर्णयको कार्यान्वयनका लागि नगर प्रहरीले निगरानी बढाएको छ भने स्थानीय प्रशासनको समेत सहकार्यमा सबै पक्ष मिलेर निर्णय कार्यान्वयन गरिने जनाएको छ।

तर, कतिपय स्थानीयले भने यस निर्णयको विरोध जनाएका छन्। उनीहरूको भनाइमा लुडो र क्यारेमबोर्ड पारिवारिक मनोरञ्जनका साधन हुन् र यसमा पूर्ण प्रतिबन्ध गर्नु समाधान नभई वैकल्पिक व्यवस्थाको खाँचो रहेको तर्क गरेका छन्।

दमक नगरपालिकाको यो कदम जुवा नियन्त्रणको प्रयत्नका रूपमा हेर्ने हो भने आवश्यक देखिए पनि सबै जनताको भावना समेट्ने गरी वैकल्पिक समाधान खोजिनुपर्ने देखिन्छ। मनोरञ्जन र विकृति बीचको सन्तुलन कायम राख्दै नीति निर्माण हुन जरुरी छ।

Views: 134

प्रतिक्रिया (०)