
प्रतिकात्मक तस्वीर गुगलबाट ।

दोहा, कतार । कतारस्थित अमेरिकी सैन्य अड्डाहरूमा इरानबाट प्रक्षेपण भएको भनिएको क्षेप्यास्त्र आक्रमणको सम्बन्धमा कतारले कडा विरोध जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उक्त आक्रमणको घोर निन्दा गरेका छन्।

उनका अनुसार, “हामी यस आक्रमणलाई कतारको सार्वभौमसत्ता, हवाई क्षेत्र, अन्तर्राष्ट्रिय कानून तथा संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लंघन ठान्छौं।” उनले कतारको हवाई प्रतिरक्षा प्रणालीले ती आक्रमणहरूलाई सफलतापूर्वक विफल पारेको दाबी गरे।

प्रवक्ता अन्सारीले थप जानकारी दिँदै भने, “आक्रमणको पूर्वानुमानका आधारमा अल उदेइद एयर बेस पहिले नै खाली गराइएको थियो। घटनामा कुनै मानवीय क्षति भएको छैन।”


कतार सरकारले भविष्यमा उपयुक्त जवाफ दिने अधिकार सुरक्षित रहेको स्पष्ट पार्दै भनेको छ, “कतारले यसको प्रकृति र प्रभाव अनुसार आवश्यक कदम चाल्नेछ।”
यसअघि कतारमा विस्फोटको आवाज सुनिएको थियो भने इरानको आधिकारिक समाचार संस्था तस्निमले इरानको रिभोलुसनरी गार्डले कतार र इराकस्थित अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ।
हालको घटनाले खाडी क्षेत्रको सुरक्षा अवस्था झन् संवेदनशील बनाएको विश्लेषकहरूको धारणा छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन दुबै पक्षलाई आह्वान गरिरहेका छन्।

