

काठमाण्डौ – नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतमा रहेको साहसिक पर्यटन कम्पनी ´मच बेटर एड्भेन्चर्स`ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो ।

नेपाल पर्यटन बोर्डले देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढङ्गले प्रस्तुत गर्दै आएको छ । बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग र समुदाय–आधारित पर्यटन प्रवर्द्धनको नीतिले नेपाललाई एकल यात्रुका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको छ ।

´मच बेटर एड्भेन्चर` को सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा र विविध साहसिक गतिविधिका लागि उच्च मूल्याङ्कन गरिएको छ । यसमा एभरेस्ट बेस क्याम्प ट्रेक, अन्नपूर्ण सर्किट र चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ ।


पर्यटन बोर्डले एकल यात्रुको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यमा आवश्यक सूचना, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ । बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन नीतिअन्तर्गत हिमाली क्षेत्र, निकुञ्ज र ऐतिहासिक सम्पदास्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ ।
नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्याङ्कन गरिएको छ । जसमा भनिएको छ, ‘नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ ।’
´मच बेटर एड्भेन्चर्स` का सहसंस्थापक श्याम ब्रुसका अनुसार यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो । यसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य र लोकप्रियताजस्ता पक्षहरू समेटिएका छन् ।
उहाँ भन्नुहुन्छ, ‘नेपालले एकल यात्रुहरूलाई अद्भुत प्रकृति, गहिरो आध्यात्मिकता र हार्दिकतापूर्ण सत्कार प्रदान गर्छ, चाहे त्यो काठमाण्डौका व्यस्त गल्लीहरू हुन् वा हिमाली क्षेत्रका शान्त र रमणीयस्थलहरू नै किन नहुन् ।’
त्यसैगरी ´मच बेटर एड्भेन्चर्स` का कन्टेन्ट म्यानेजर किर्स्टी होल्म्सले भर्खरै नेपालको एकल यात्रा गर्नुभएको थियो । उहाँले आफ्नो अनुभव उल्लेख गर्दै भन्नुभएको छ, ‘अन्नपूर्ण संरक्षण क्षेत्रमा हिँड्दा र चितवनमा घुम्दा म आफू घरमा पुगेको अनुभूति भयो ।’
´मच बेटर एड्भेन्चर्स` को प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छ भने क्रमशः जापान, नर्वे, स्पेन, अल्बानिया, पोर्चुगल, नेपाल, मोन्टेनेग्रो, जोर्डन र ग्रीस रहेका छन् ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस्ता अन्तर्राष्ट्रिय सूचीकृत सफलतालाई बोर्डले अवसरका रूपमा प्रयोग गर्दै थप रणनीतिक प्रवर्द्धन र गन्तव्य सुधारका पहलहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

