काठमाडौं।
तारकेश्वर नगरपालिका–३, नागार्जुन क्षेत्रमा निर्माण सम्पन्न भएको नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंबाट केही दूरीमा अवस्थित, हरियाली र शान्त परिवेशले भरिएको यो रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहबीच रिसोर्टको उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहीले नेपाललाई विश्व पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा चिनाउन यस्ता निजी लगानीका परियोजनाहरू महत्वपूर्ण हुने उल्लेख गरे। “संरक्षित क्षेत्र, निकुञ्ज तथा आरक्षणको सही सदुपयोग गर्दै पर्यटनसँग सँगै लैजान जरुरी छ,” मन्त्री शाहीले बताए। साथै, सरकारले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माणमा प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे।

स्वामी आनन्द अरुणले नेपाललाई “स्वर्ण भूमि”को संज्ञा दिँदै यसको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक विविधता विश्वमा अद्वितीय रहेको बताए। “नेपाल सुनको खानी हो, तर विवेकपूर्वक प्रयोग गर्न नसक्दा हामी अवसर गुमाइरहेका छौं,” उनले भने।



वरिष्ठ सेफ गोविन्दनरसिंह केसीले रिसोर्टले अन्तर्राष्ट्रिय पर्यटकलाई पनि उत्कृष्ट सेवा दिन सक्ने क्षमताको रहेको बताए। कार्यक्रमका सञ्चालक निरोज पन्तसहित व्यवस्थापन समितिका अन्य सदस्यहरूले रिसोर्टले स्थानीय रोजगारी सिर्जना गर्ने र समग्र समुदायलाई लाभ दिने लक्ष्य रहेको जानकारी दिए।
आधुनिक पूर्वाधार र सुविधासम्पन्न सेवा
रिसोर्टमा हाल ६५ वटा सुविधा सम्पन्न कोठाहरू सञ्चालनमा छन्। व्यवस्थापक अभिषेक विक्रम शाहका अनुसार, डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिनेछ। साथै, रिसोर्टमा एयर कन्डिसन युक्त कोठा, पर्याप्त पार्किङ, बच्चाहरूका लागि प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ पहुँच तथा बारबेक्यु, पिज्जा, मःम्सहित स्थानीय स्वादमा आधारित विविध परिकारहरू उपलब्ध छन्।
रमणीय वातावरण, हरियाली, स्वच्छ हावा र अत्याधुनिक सेवा सुविधाले भरिएको नागार्जुन रिसोर्ट पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने विश्वास गरिएको छ।


आधुनिक पूर्वाधार र सुविधासम्पन्न सेवा