काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तुति रहने चर्चित टेलिभिजन कार्यक्रम ‘ऐना’ को दोस्रो सिजन असार २० गतेदेखि प्रशारणमा आउँदैछ। सामाजिक यथार्थको ऐना देखाउने यो कार्यक्रमको दोस्रो संस्करण विकास निर्माणका विषयहरूमा केन्द्रित हुनेछ।

कार्यक्रमका निर्देशक प्रकाश लामिछानेले मंगलबार सार्वजनिक विज्ञप्तिमा उल्लेख गरेअनुसार, “‘ऐना’को दोस्रो सिजनले नेपालको समुन्नतिको यात्रामा कति प्रगति भयो, कति छुट भयो, र के–कस्ता बेथिति अझै कायम छन् भन्ने प्रश्नलाई उजागर गर्नेछ।” उनले थपे, “देशका विभिन्न स्थानमा पुगेर तयार पारिएका रिपोर्टिङसहित हामी कार्यक्रम लिएर उपस्थित हुँदैछौं।”

जनप्रतिनिधि र संचारकर्मीको दुई भूमिकामा शर्माको उपस्थिति

पहिलो सिजनको झैं महामन्त्री शर्मा नै यसपटक पनि कार्यक्रमका प्रस्तोता हुनेछन्। निर्देशक लामिछानेका अनुसार, “शर्माले राजनीतिकर्मीका रूपमा प्रत्यक्ष सरोकारवालासँग संवाद गर्नुहुनेछ, अनि संसदमा झैं सरकारलाई प्रश्न गरी समाधानको खोजमा गहिरो छलफल चलाउनुहुनेछ।”


कला, साहित्य र पत्रकारितामा बहुआयामिक अनुभव
साहित्यिक अभिरुचि भएका शर्माले शब्दमा संगीत पनि भर्ने गरेका छन्। हालै हिमाल आरोहण गरेर चर्चामा आएका शर्मा विगतमा छापामाध्यमका सम्पादक, रेडियो तथा टेलिभिजनकर्मीको रूपमा पनि परिचित रहिसकेका छन्।
सामाजिक रूपान्तरणमा केन्द्रित पहिलो सिजन
‘ऐना’ को पहिलो संस्करणमा बालश्रम, जातीय विभेद, घरेलु हिंसा, सार्वजनिक स्थलको दुर्व्यवहार, एसिड आक्रमणजस्ता सामाजिक विषयहरूलाई गहिरो विश्लेषणसहित प्रस्तुत गरिएको थियो। त्यो सिजनले नेपाली समाजमा रहेको पीडा र अन्याय विरुद्ध जनचेतना जगाउने उल्लेखनीय प्रयास गरेको थियो।
सशक्त टिम, नेपाली उत्पादनसँगको सहकार्य
कार्यक्रमको निर्माण, अनुसन्धान, रिपोर्टिङ, लेखनदेखि सम्पादनसम्मको टिममा प्रकाश लामिछाने, आरके धिताल, जनक पौड्याल, भानु बोखिम, सोविता रिसाल, जीवन तिम्सिना, मनिका खतिवडा, ज्योती भट्टराई, युवराज साउद, सुशील बुढाथोकी, युवराज श्रेष्ठलगायत सक्रिय छन्।
लामिछानेले अघिल्लो सिजनझैं यसपटक पनि कार्यक्रमका प्रायोजक नेपाली उत्पादनसँग जोडिएका व्यवसायीहरू नै हुने जानकारी दिएका छन्।
प्रसारण माध्यमहरू
कार्यक्रम ‘ऐना’ कान्तिपुर टेलिभिजन र OSR Reality मार्फत नियमित प्रसारण हुनेछ।

