काठमाडौं । अविरल वर्षासँगै देशका पहाडी भेगहरू फेरि बाढी र पहिरोको जोखिममा परेका छन्। सडक यातायात अस्तव्यस्त बनेको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार सात वटा मुख्य राजमार्ग अहिले पूर्णरूपमा अवरुद्ध छन्, जसले दैनिक यात्रा गर्ने हजारौं यात्रु र मालवाहक सवारी रोकिएका छन्।

अवरुद्ध सडक खण्डहरुः
संखुवासभा (भोटखोला) – कोशी राजमार्ग सिधै रोकिएको छ। निरन्तर झरिरहेको वर्षाले सडकलाई बगाएको प्रहरी प्रवक्ता विनोद घिमिरेको भनाइ छ।

काभ्रेपलाञ्चोक (बनेपा नगरपालिका–४) – सडकमाथिको पुलै भाँचिएको छ। बनेपा–नाला–भक्तपुर खण्ड सञ्चालन बाहिर गएको छ।

सिन्धुपाल्चोक (कोदारी) – अरनिको राजमार्ग पहिरोले पूर्ण रूपमा ठप्प। यात्रुहरू बीचमै अलपत्र।


डोल्पा (छलघाट) – भेरी करिडोर बाढीले बगाएको छ। त्रिपुरासुन्दरी नगरपालिका–१ मा सवारी सञ्चालन असम्भव।
रुकुमपश्चिम (रिजिगार) – आठबिसकोट–जाजरकोट डोल्पा भेरी करिडोर सडकको नाममा खोलो मात्र बाँकी।
जाजरकोट (दखेरीभिर) – मध्यपहाडी राजमार्ग पहिरोले पुर्दै लगेको छ। जोखिमयुक्त क्षेत्र भनिए पनि पूर्वतयारी शून्य।
बाजुरा (भासुपाताल) – मार्तडी–कोल्टी सडक छेउमै हराएको छ, यात्रा कल्पना मात्र।
केही सडक एकतर्फी खुले पनि जोखिम कायमै
बाग्लुङथिस्त कालीगण्डकी करिडोर र रोल्पाको अखटे खण्ड एकतर्फी मात्र सञ्चालनमा छन्। गुल्मी–रोल्पा खण्ड (सहिद राजमार्ग) पनि पहिरोको जोखिममा एकतर्फी चलाइएको छ।
प्रहरीको अपिल
नेपाल प्रहरीले प्रभावित क्षेत्रतर्फ जान लाग्ने सबै सवारीसाधन र यात्रुहरूलाई यात्रा स्थगन गर्न वा वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। मौसम अझै अनिश्चित देखिएको हुँदा थप पहिरो खस्ने जोखिम कायमै छ।

