विर्तामोड । विदेश अध्ययनका लागि तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गर्दै विर्तामोडमा दुई दिने ईसिम निःशुल्क वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमबाट करिब १०० विद्यार्थीहरूले ईसिम प्राप्त गरेका छन्।

उक्त कार्यक्रम ब्रिटिस इन्स्टिच्युट अफ एजुकेसन तथा द ब्युटी वर्ल्ड विर्तामोडमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि आयोजना गरिएको थियो। कार्यक्रम ब्रिटिस इन्स्टिच्युट विर्तामोडको पहलमा नेपाल टेलिकम विर्तामोड, झापाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

नेपाल टेलिकमका वरिष्ठ सहायक सुदर्शन नेपाल र टेक्निसियन अशोक हिङमाङको उपस्थितिमा विद्यार्थीहरूलाई ईसिम निःशुल्क उपलब्ध गराइएको थियो।

अहिले विदेश जाने विद्यार्थीका लागि NFC-supported eSIMअनिवार्य जस्तै बनिरहेको सन्दर्भमा, नेपाल टेलिकमकै ईसिम प्रयोग गर्दा सेवाबाट संकलित रकम देशभित्रै रहन सकोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको ब्रिटिस इन्स्टिच्युटका सञ्चालक वत्सल भट्टराईले बताए ।
“विदेश जाने विद्यार्थीले विदेशी सिमको सट्टा नेपाल टेलिकमकै ईसिम प्रयोग गर्न सकून् भन्ने हाम्रो प्रयास हो,” सञ्चालक भट्टराईले भने।
विद्यार्थीहरूबाट पनि यस्तो किसिमको सहुलियतपूर्ण सेवाले विदेश यात्राको तयारीमा सहजता मिलेको प्रतिक्रिया आएको छ।

