Aamsanchar

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक डे वाइल्डको गुनासोः व्यवस्थापनमा राजनीति बढी, खेलाडीको माया अविश्वसनीय

Author Image
मङ्गलवार, असार २४, २०८२

काठमाडौँ । एएफसी महिला एसियन कप छनोट २०२५ मा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले व्यवस्थापकीय कमजोरीप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। बेल्जियमका यूईएफए प्रो-लाइसेन्सधारी प्रशिक्षक डे वाइल्डले उज्वेकिस्तानमा सम्पन्न प्रतियोगिता अवधिभर होटल, आइस, प्रविधि र प्राविधिक किट्सजस्ता आधारभूत कुराको समेत अभाव भएको गुनासो गरेका छन्।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबलको दीर्घकालीन योजनाभन्दा पनि राजनीतिमा रुचि देखाएको आरोप लगाए। “खेलाडीका लागि म नेपाल आएको हुँ, भद्रगोलका लागि होइन,” उनले स्पष्ट शब्दमा भने।

डे वाइल्डले भने, “खेलाडीहरूले पाएको माया अविश्वसनीय छ। तर टिम व्यवस्थापनमा सहयोगी अभाव, सूचना प्रविधिको उपयोग नहुनु, र आवश्यक प्रशिक्षण उपकरण नहुनुले काम गर्न अप्ठ्यारो भयो।”

उनीसँगको कुराकानीमा उनले पेनाल्टी प्रहारको बेलामा प्रधानमन्त्रीसहितको भिडियो कन्फ्रेन्सले खेलाडीहरूमा अनावश्यक दबाब सिर्जना गरेको भन्दै त्यसले परिणाममा असर पारेको जनाए।

उनले भने, “हामी उज्वेकिस्तानसँगको खेल हारेका होइनौं, पेनाल्टीबाट बाहिरियौं।”

भविष्यमा नेपाल फर्किए खेलाडीका लागि मात्रै फर्किने बताउँदै उनले भने, “म अब यस्तो वातावरणमा काम गर्न चाहन्न। तर यदि फर्किए भने, ठूलो परिवर्तन ल्याउने लक्ष्य लिन्छु।”

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर