सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार जंगलको भित्री सडक खण्डमा शंकास्पद अवस्थामा भेटिएको कारभित्र अत्याधुनिक राइफल फेला परेको छ।

सोमबार राति करिब १ बजेको समयमा धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको बा ६ च ८४०३ नम्बरको कालो रंगको कारलाई शंका लागेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीले रोकेर जाँच गर्न खोज्दा कारभित्र रहेका ४–५ जना व्यक्ति फरार भएका थिए।

प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार सडकमै छाडिएको कारको तलासी गर्दा ‘मेड इन इङ्ल्याण्ड’ लेखिएको एक थान अत्याधुनिक राइफल फेला परेको हो।

इन्स्पेक्टर दिवश कुँवरको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थल आसपासको जंगल क्षेत्रमा समेत खोजी अभियान चलाएको थियो। तर फरार व्यक्तिहरु अझै फेला नपरेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।

हाल फेला परेको हतियार र कारलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

