बिर्तामोड । झापाको पुरानो र प्रतिष्ठित शिक्षालय गोमेन्द्र बहुमुखी महाविद्यालयले अब कानुन (बीए एलएलबी) र प्रविधिमैत्री आर्टिफिसियल इन्टेलिजेन्स (AI) कोर्स सञ्चालन गर्ने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत कलेज प्रशासनले नयाँ अध्यापन कार्यक्रमबारे जानकारी गराएको हो।

कलेजका प्राचार्य डा. रुपक खनालका अनुसार एआइ सम्बन्धी कोर्स “बिटेक इन एआइ” यसै शैक्षिक सत्रदेखि सुरु गरिनेछ। “प्रविधिमा विश्वव्यापी क्रान्तिसँगै एआईको प्रयोग हरेक क्षेत्रमा अनिवार्यजस्तै बन्दै गएको छ,” प्राचार्य खनालले बताए, “त्यसैले हामीले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर एआइ अध्यापन सुरु गर्न लागेका हौं।”

उनका अनुसार आठ सेमेष्टरमा सम्पन्न हुने उक्त कोर्समा जम्मा ४८ जना विद्यार्थी भर्ना हुन पाउनेछन्। पढाइका लागि शुल्क ६ लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ।




“जुनसुकै संकायबाट प्लस टु पास गरेका विद्यार्थीहरूले बीए एलएलबीमा भर्ना हुन सक्नेछन्,” प्रमुख खनालले भनिन्, “यसले कानुन क्षेत्रप्रति रुचि राख्ने विद्यार्थीहरूका लागि अवसर थपिनेछ।”
छात्रवृत्तिको व्यवस्था
कलेज प्रशासनका अनुसार दुवै कोर्समा छात्रवृत्तिको सुविधा समेत उपलब्ध हुनेछ। प्रत्येक कोर्समा कुल भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिइनेछ भने प्रत्येक सेमेष्टरका टपर विद्यार्थीले पूर्ण छात्रवृत्ति पाउनेछन्।
विसं २०५३ मा स्थापना भएको गोमेन्द्र क्याम्पसमा यसअघि बिबिए, बिसिए इन आइटी, एमबिए, एमसिए तथा एमसिए इन आइटी जस्ता कोर्सहरू सञ्चालन भइरहेका छन्। अब कानुन र कृत्रिम बौद्धिकता विषय थपिएसँगै कलेजले विषयगत विविधता मात्र नभई गुणस्तरीय शिक्षाको यात्रामा नयाँ फड्को मारेको छ।

