Aamsanchar

भानुभक्त प्रथम कवि 

Author Image
आइतवार, असार २९, २०८२

 वि स १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा  भानुभक्त आचार्यको जन्म भएको हो। भानुभक्तको  लालन (पालन  शिक्षा दीक्षा उनी ब्राम्हण कुलमा जन्मिएका हुँदा सोही अनुरूप धार्मिक अनि सांस्कृतिक अनुशासनमा  रहि शिक्षित, दिक्षित र प्रशिक्षित भएका हुन  भनी लिपि हरूमा उल्लेख गरेको पाइन्छ ।
भानुभक्त नेपाली भाषाका पुनर्जागरण का संवाहक र प्रथम कवि हुन। जसले भावनाको मर्मलाई नेपाली भाषा र शब्द मान चित्रमा अभिव्यक्त  गरेका थिए। त्यस बखत कविता तथा औपचारिक साहित्‍यहरू संस्कृतभाषी हुने गर्दथ्यो । सर्वसाधरणले संस्कृत भाषा बुझ्न  सक्दैन थिए। बुझाउन  संस्कृत जानकार ब्राम्हणको आवश्यक पर्दथ्यो। सामान्य व्यक्तिले चाहेर पनि साहित्य तथा कलात्मक अभिव्यक्ति बुझ्न कठिन थियो।

जब भानुभक्तले रामायणलाई नै संस्कृतबाट सरल जनजिब्रो नेपाली भाषामा उल्था गरि लिपिवद्ध गरि दिनु भयो तब त भानु आदिकवि कहलाए।
अनुवाद गरिएको रामायण अलौकिक रूपमै छन्द र भावको दोभान मात्रै रहेन नेपाली भाषालाई सरलीकृत गरि सबैको पहुँचमा पुर्‍याउने देन उनै भानुभक्तको हो ।
आज नेपाल मा मात्र होइन नेपालीमूलका विश्वभर छरिएर बसोवास गर्ने सबैलाई गौरवान्वित बनाएको छ ,भानु सबैका साझा सम्पती बन्न पुगेका छन्।
नेपालको भूगोल लाई एककीरण गरि विशाल नेपालको  पुनर्जागरण पृथ्वीनारायण शाह ले गर्नु भयो भने नेपाली भाषा साहित्यको जागरण भानुभक्तले गरेका हुन । भानुभक्तले कथेका शब्द श्लोक , काव्यहरू हरेक नेपालीका घर घरमा पुञ्जित तथा सुरक्षित छन । रामायण भित्र रहेका बाल काण्ड , अरन्यकाण्ड , सुन्दरकाण्ड,युद्धकाण्डका कथा ( उपकथा तथा अतिरिक्त अन्य अनगिन्ती कृतिहरू छन। जुन कृतिहरूले सामाजिक ,नैतिक, मनोरञ्जन , चारित्रिक शिक्षा प्रदान गर्दै समाज रुपान्त्रण र भाषामा कोशेढुङ्गा बनेको छ ।
आज पनि ती कृतिहरू तथा रामायण को झन महिमा बडेको छ ।
जसरी आधुनिक नेपाल एकीकरणमा पृथ्वीनारायण शाह लाई प्रेरणा विषेनखर्ची को रह्यो , त्यसै गरि भानुभक्तको जीवनमा एकजना घाँसी प्रेरणाका श्रोत बन्न पुगे। भानुभक्तले घाँसीका कुरा सुने पछि कथेका श्लोक हरू आज पनि ढिकी जाँतो मेलापात जादाँ  जन ( जन ले गुन गुनाएको पाइन्छ ।विवहा बटुलमा सिलोक आदि तिनी भानुभक्तका कृतिले छाहेको छ ।  घाँस काटेर पाएको पैसाले समाजका लागि पानी खाने कुवा खन्ने योजना घासीको सुनेर भानुभक्तमा केही गर्नु पर्छ भनेर आफू घाँसी जति पनि सोच नभएको भनी ग्यालिनी गरि केही गर्ने जाग्रीती भएको पाइन्छ । ती घाँसी का शब्द बाट भानुले  कथेका श्लोक आज सम्मको पिडिलाइ केही गर्नु पर्छ समाजका लागि भन्ने उत्प्रेरणा मिलेको छ ।
यसरी भानुभक्तको चर्चा आज को दोहोरी  र लोकगितहरुको उदगम  बिन्दु पनि सरल रामायण नै हो । यसरी भानुभक्त को चर्चा  परिचर्चा एउटा लेख वा मन्तव्यले मात्र पूरा हुन सक्दैन ।
भानुभक्तको घाँसी कविता यस्तो थियो ।

भर जन्म घाँस तिर मन् दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ।
म भानुभक्त धनी भैकन किन यस्तो।।
मेरा ईनार न त सत्तल पाटिकै छन् ।
जे धन चीजहरु छन् घर भित्रनै छन्।।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति ।
धिक्कार हो म कन बस्नु न राखि किर्ति।।

भानुभक्तको लय बिल्कुलै फरक देखिन्छ  । त्यो लय अझै पनि नेपाली जनजीब्रोमा झुण्डिएको  छ । उनिपश्चातका अन्य धेरै कविहरुले आजसम्म पनि आफ्ना कविताहरु वाचन गर्न यहि लयको प्रयोग गरेका छन् ।
भानुभक्तको सम्झनामा नेपाल, भारतको दार्जिलिङ्ग लगायतका क्षेत्रहरु र नेपाली मुल भएका विश्वभरिकै देशहरुमा भानुजयन्ती मनाइन्छ । भानुभक्त कविमात्र नभएर नेपाली भाषा साहितका ढुकढुकी हुन् र हरेक नेपाली जिब्राहरुमा भानुभक्तको लय जीवीत छ  र सदैव जीवित रहने छ ।  भानुभक्तले अनुवाद गर्दै छन्द अनि भावलाई कायम र अझ बढोत्तर गर्नसक्नु, शताब्दीसम्म जनमानसले प्रयोगगर्न सक्ने र यर्थाथपरक उखान, भनाई र छन्दात्मक अभिब्यक्ति दिएर जानु र नेपाली भाषाको चौतर्फी संस्थागत गर्नसक्नु भानुभक्तको आदिकवि हुनको पूर्णव्याख्या र पहिचान हो । छतौरे प्रेमकथा र सतही कुण्ठाहरुको उजागर गरेर खोक्रो साहित्यलाई परिभाषीत गर्ने, झुण्डो ,झुण्डो  , समूह बनाएर खादा व्याज मा सजिने ,  मौलिक संस्कार पद्धती मौलिक पोषाक  लाई कदर सम्मान नगर्ने ,साहित्य जस्तो भवसागरलाइ  अंञ्जुली , लोटामा र पोल्टामा  राखेर साहित्यको जगेर्णा हुदैन ।आजको समाजले भानुभक्तको गहनता र सरलताबाट धेरै सिक्न जरुरी छ ।उहाँ का कृति दिव्य रचनालाइ व्यवहारमा उर्तान जरुरी छ । केवल असार २९ मा मात्र भानुभक्त लाई सम्झेर पुग्दैन , ३६४ दिन भानुभक्तका दीव्य काव्यहरू मनन , चिन्तन गर्दै व्यवहारमा उतार्ने र ३६५ दिन को असार २९ लाई भानुजयन्ती मनाउदै समीक्षा गर्न जरुरी छ ।
एउटा कुरा स्पष्ट कुरा के छ भने , हामीले सायद आदिकवि  भानुभक्तको जीवनबारे अझै र उनका कृतीबारे अझ थप अध्यन र अन्वेषण गर्न जरुरी देखिन्छ । मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरु हुन् । यूगकवि मोतीरामले भानुभक्तका धेरै अन्य कृतीहरु प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका अधिकांश कृतीहरु मोतीरामले लेखेका हुन् भनेर आरोप पनि लगाउने गर्दछन् । तसर्थ स्पष्टपार्न जरुरी छ , पछिल्लो पिडिले सत्यतथ्य नपाउन सक्छन दुविदा मा राखियो भने आदिकवि भानुभक्तमा अन्याय हुन्छ कपोकल्पित बिषय हरूमा जानकार हरू द्धारा समय समयमा बहश हुन जरुरी छ ।
मोतिराम भट्ट भारतमा अध्यन गरेका कारण उर्दु, फारसी लगायतका भाषामा विशेष दखल हुदाहुदैपनि नेपाली भाषा र विशेषतः भानुभक्तका कृतीहरुप्रतिको समर्पणले, नेपाली भाषाको फराकीलो दायरा र नेपालीपन उद्घोष गरेको देखिन्छ ।
भानुजयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो । मोतीरामले बिसं १९४१ मा लामोसमय भानुभक्तका बारेमा अन्वेषण र सोध गरि छपाएका जीवन चरित्रपछि भानुभक्तका बहुआयमीक रचनाहरु अझ जनमानसका सामु आएका हुन् । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर व्याख्या गरिएको छ ।

भानुभक्तका केही रोचक प्रसंगका कुरा गर्दा छिमेकि भाट थरका ब्यक्तिसँग जग्गाको सिमानामा झगडा गरेका भानुभक्तलाई भाट शब्दसँगै यति चित्त दुखाई भयो कि उनले आफ्नो घरको भित्ताहरुबाटै बाँसका भाटाहरु निकालेर फालेका तथ्य पनि अझै तनँहु अनि त्यहि छेउछाउका ठाँउहरुमा प्रचलित छ ।

भानुभक्तबाट अहिलेका पुस्ताले भाषामोह सिक्न जरुरी छ । छरिएका भाषाहरुलाई एकसुत्रमा बाँध्ने महान व्यक्ति, नेपालीजनका आदिकविको सम्झनामा आज बिश्वभर नै कतै बलले, कतै करले त कतै चलन थाम्नकालागि मात्रैपनि कार्यक्रम गरेर मनाइएको पाइन्छ । भानुभक्त बिकल्प हैनन्  निर्भिकल्प हुन । भानुभक्त हाम्रा  गौरव, हाम्रा भाषा लवजका पुनर्जागरणका सम्बाक हुन , आधार हुन् भन्ने बुझ्न जरुरी छ है ।

नेपाली भाषाको अध्यन, खोज  अनुसन्धान गर्दै नयाँ पिडिलाइ हस्तान्त्रण गर्दै समयनुकुल बनाउदै लैजानु नै  भानुप्रतीको सच्चा श्रद्धासुमन हुनेछ ।  विदेशी प्रतिमान का विचार शासन प्रशासनका कारण मौलिकसंस्कार संस्कृती  भाषा लिपि   ध्वस्त हुँदै गएको छ ।आज शेक्सपियरका कविता, अंग्रेजी गीत मुखाग्रे भएका नेपाली पुस्ताहरुलाई भानुभक्तलाई चिन्ने वातावरण तयार  हुनपर्दछ किनभने नेपालीले पहिले ‘गाई’ बुझ्दछ अनि मात्र ‘काउ’को अर्थलाई गाईसँग जोड्दछ । पहिले ‘आमा’ बुझन जरुरी छ अनिमात्र ‘मम’ या ‘मदर’ । पहिला बुबा अनि मात्र फादर ।
सदैव अमर रहुन् भानुभक्त र उनका रचनाहरु । कालो बिर्खे  टोपी लगाएका भानुभक्तको छवि र महत्व नेपालीजनमा रहिरहोस् ्भानुजयन्तिमा मौलिक पोषाक लगाउने चेतना सबै नेपालीमा आओस ।   भानुजयन्ती मनाउन  सिक्किमका नागरिकको अनुकरण गर्नु पर्छ । सबै साहित्य मनहरुमा सतसत नमन ।भानुजयन्तीको सबैमा हार्दिक शुभकामना ।

लेखक ओली चेतना नेपालका अध्यक्ष पनि हुन् ।
केन्द्रीय कार्यालय भद्रपुर ७ झापा

Views: 84

प्रतिक्रिया (०)

सम्बन्धित खबर