Aamsanchar

बिर्तामोड नगरपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा

Author Image
बुधवार, असार ३२, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाको नव निर्मित पाँच तले प्रशासकीय भवनको आज एक भव्य समारोहबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गर्नुभयो।

नगरपालिकाको सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउने उद्देश्यले निर्माण गरिएको यो भवन करिब रु. ४ करोड ९९ लाख १७ हजार ५८८ को लागतमा सम्पन्न भएको हो। स्थानीय पूर्वाधार विभाग र बिर्तामोड नगरपालिकाको ५०–५० प्रतिशत साझेदारीमा भवन निर्माण गरिएको हो।

नगर प्रमुख पवित्रा महतारा प्रसाईका अनुसार भवनको सञ्चालनसँगै सेवाग्राहीको बढ्दो चाप व्यवस्थापन गर्न थप सहजता आउनेछ। उहाँले भन्नुभयो, “नयाँ भवनले नगरपालिकाको दैनिक कामकाज व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।“

भवनका विशेषताहरूः
पाँच तले संरचना, अपाङ्गमैत्री लिफ्टसहित

भुइँतलामा सवारी पार्किङ सुविधा

दोस्रो तलामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालय

तेस्रो तलामा उपप्रमुखको कार्यकक्ष

चौथो तलामा आधुनिक सभा हल र कार्यपालिका बैठक कक्ष

फराकिला कोठाहरू, कार्य वातावरण सहज

उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाका अनुसार भवनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि समेत सहज पहुँच सुनिश्चित गरिएको छ।

प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले नयाँ भवनले नगरको विस्तारित सेवा र कार्यभार व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यो संरचना २३ मिटर लम्बाइ र १४ मिटर चौडाइमा फैलिएको छ।

सुकुम्बासीलाई पुर्जा वितरण
सोही कार्यक्रममा वडा नं. ७ का ३ जना सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ। यो कदमलाई नगरपालिकाले सामाजिक न्याय प्रवद्र्धनका हिसाबले एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरेको छ।

विशिष्ट अतिथिहरूको उपस्थिति
उद्घाटन कार्यक्रममा कोशी प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एकराज कार्की, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, प्रशासनिक अधिकृतहरू तथा स्थानीय समुदायका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Views: 140

प्रतिक्रिया (०)