Aamsanchar

दमकमा ग्यास सिलिन्डर पड्किँदा भीषण आगलागी, तेह्र लाख रुपैयाँ बराबरको क्षति

Author Image
बिहिवार, साउन १, २०८२

झापा । झापाको दमक नगरपालिका–६ मा रहेको सेवारो होटलमा ग्यास सिलिन्डर पड्किँदा भएको भीषण आगलागीमा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

दिउँसो १२:०० बजेतिर दिलमाया लावतीले सुरेश कुमार थापाको खाली जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएकी सेवारो होटलमा खाना पकाउने क्रममा ग्यास चुहावट भई सिलिन्डर पड्किएको थियो। टिनको छानो र बेराले बनाइएको एक तले कच्ची घरमा आगलागी हुँदा मानवीय तथा चौपाय क्षति भने नभएको जनाइएको छ।

आगलागीका कारण होटलभित्र रहेका लत्ता कपडा, खाद्यन्न, ३ थान फ्रिज, ८ थान ग्यास सिलिन्डर, २ थान इनभर्टरसहितको सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब १३ लाख रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै, सोही स्थानमा रहेको ज्ञानु रिजालको पक्की दुईतले घरको पछाडिको सात वटा झ्यालको सिसा फुटेको र घरभित्रको लत्ता कपडा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ।

आगो नियन्त्रणका लागि दमक नगरपालिका, उर्लाबारी नगरपालिका, कमल गाउँपालिकाबाट दमकल परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय दमकबाट १५ जना प्रहरी, सशस्त्र प्रहरी बल नम्बर ३८ रिर्जव गण लखनपुरबाट सशस्त्र प्रहरी निरीक्षक माधव खत्रीको कमान्डमा २५ जना सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सहयोगमा करिब १२:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर