सनातन धर्मका अनुयायीहरू, विशेषतः ॐकार परिवारले समय–समयमा विभिन्न तिथि–मितिमा पर्व, उत्सव, चाडपर्व, मेला र जात्राहरू मनाउँदै आएका छन्। यी परम्पराहरू केवल रमाइलो वा मनोरञ्जनमा मात्र सीमित छैनन्, बरु यिनीहरूका मौलिकता, सामाजिक सद्भाव, व्यावहारिकता, प्रकृतिको संरक्षण, दुष्प्रवृत्तिको अन्त्य, मानव प्रेम, प्राणीमाथिको सद्भाव र वैज्ञानिक दृष्टिकोणसँग सम्बन्धित छन्। यिनै पर्वहरूमध्ये एक महत्वपूर्ण पर्व हो– साउने सङ्क्रान्ति।

पात्रोअनुसार साउन महिनाको पहिलो दिनलाई साउने सङ्क्रान्ति भनिन्छ। ज्योतिषशास्त्रअनुसार सौरमासको हिसाबले यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ। यद्यपि सूर्यले सबै राशिलाई प्रभावित गर्छ, तर सूर्यको कर्कट र मकर राशिमा हुने प्रवेशलाई विशेष धार्मिक महत्त्व दिइन्छ। यस दिनदेखि सूर्य दक्षिणी गोलार्धतर्फ प्रवेश गर्ने भएकाले दिन छोटा र रात लामा हुँदै जान्छन्। विज्ञान र शास्त्र दुबैले यसको पुष्टि गरेका छन्।

साउन महिनालाई विशेषतः हिन्दू धर्मावलम्बीहरूले अत्यन्त पवित्र महिनाका रूपमा लिन्छन्। स्नान, दान, श्राद्ध, होमजस्ता धार्मिक कार्यको थालनी यही दिनबाट गरिन्छ। सूर्य दक्षिणायनमा प्रवेश गर्दा देवताहरूको रात र पितृहरूको दिन शुरु हुने विश्वासका आधारमा पितृकार्यको सुरुआत पनि यही दिनबाट गरिन्छ।

यस दिन काण्डरक नामक राक्षसको पूजा गर्ने चलन छ, जसबाट दाद, खटिरा, लुतो लगायतका छालाजन्य रोगबाट बच्न सकिन्छ भन्ने जनविश्वास रहिआएको छ। विवाहित महिलाहरू साउन महिनाभर सौभाग्यको प्रतीक हरियो चुरा, पोते, लुगा लगाउने तथा सोमबार व्रत बसी शिवमन्दिरमा पूजा गर्ने परम्परा रही आएको छ।
यो पर्व आदिवासी समुदायहरूमा पनि उत्तिकै महत्त्वका साथ मनाइन्छ। याक्थुङ लिम्बू समुदायले यसलाई सिसेक्पा तङ्नाम भनी मनाउँछन् भने तराईका आदिवासीहरूले नयाँ फलफूलहरू डोरीमा गाँसी ढोकामाथि झुण्ड्याउने चलन राख्छन्। धिमाल समुदायले यस दिन असारे पूजा र धङधङ्गे मेलाको समापन गर्छन्। पश्चिम कर्णालीतर्फ देउडा नाचगान र बलिरहेको अगुल्टोलाई दक्षिणतर्फ हानी, नराम्रा कुराहरू खेदाउने परम्परा रहेको छ।
साउने सङ्क्रान्तिलाई देश–विदेशमा रहेका नेपालीहरूले आ–आफ्नो सांस्कृतिक मान्यता अनुसार मनाउने गर्दछन्। विभिन्न जाति, वर्ग र समुदायअनुसार मनाउने शैली फरक भए पनि यसको मौलिकता, विविधता र आध्यात्मिक गहिराइ सबैमा समान रूपमा अनुभव गर्न सकिन्छ।
तर आजसम्म सञ्चारमाध्यम वा अभिलेखमा साउने सङ्क्रान्ति केवल एउटा जाति वा वर्गको चाडजस्तो मात्र प्रस्तुत हुँदै आएको पाइन्छ, जुन पुनरावलोकन योग्य छ। यसलाई सबै नेपालीको साझा पर्वका रूपमा विकास गर्दै धार्मिक, सांस्कृतिक सहिष्णुता कायम गर्न सञ्चारमाध्यम र अनुसन्धान संस्थाहरूले विशेष अभियान सुरु गर्नु जरुरी देखिन्छ। चेतना साहित्य समाजले यसै उद्देश्यले यसको पुनःसंरचना तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको छ।
पूर्वी नेपालमा यो दिन बिहानै खेतबारी वा वनजङ्गलबाट आवश्यक पात, फूल, फल र अन्न सङ्कलन गरिन्छ। त्यसपछि घरको मूल ढोकामा हरियो डोरीमा गाँसी झुण्ड्याउने चलन छ। परिवारजन एकत्रित भई विभिन्न पकवान, फलफूल, मसिनो परिकार सेवन गरी रमाइलो गर्छन्।
साँझपख गाउँघरमा नाङ्लो, थाल, ढोल र झ्यालुंगा बजाएर वातावरण झनै उल्लासमय बनाइन्छ। यस दिनलाई आदिकालदेखि क्षत्री, ब्राह्मण, राई, लिम्बू, थारू, मगर, गुरुङ लगायत विविध जातजातिले आ–आफ्नै परम्पराअनुसार मनाउने गरेका छन्।
यस पर्वलाई विगत र वर्तमानको समीक्षा गर्दै, भविष्यको योजनाबद्ध सुरुआत गर्ने अवसरका रूपमा समेत लिन सकिन्छ। वर्तमान समयको भ्रष्टाचार, राजनीतिक अस्थिरता, सामाजिक विकृति आदिको अन्त्यको कामना गर्दै सकारात्मक भावनाको प्रसार गर्ने पर्वका रूपमा यसको उपयोग गर्नु आवश्यक छ।
हाम्रा पूर्खाहरूले भन्ने गर्थे — अब नयाँ अन्नबाली पाकिसकेका छन्, अब हामी माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाउने पर्व हो साउने सङ्क्रान्ति। संयोगवश, यही दिन नयाँ आर्थिक वर्षको सुरुआत पनि हुने भएकाले यसलाई समीक्षा पर्वका रूपमा पनि विकास गर्न सकिन्छ।
अन्ततः, साउने सङ्क्रान्तिलाई धार्मिक मात्र नभई सामाजिक, सांस्कृतिक, राजनीतिक र वैज्ञानिक चेतनाको रूपमा पनि बुझ्नु आवश्यक छ। सम्पूर्ण जाति, भाषा र क्षेत्रका नेपालीहरूको साझा पर्वको रूपमा यसको प्रचार–प्रसार, अध्ययन, अनुसन्धान र व्यवहारिक समायोजन गरिनु जरुरी छ।
जय चेतना साहित्य समाज
धन्यवाद
इन्द्रप्रसाद ओली
अध्यक्ष, राष्ट्रिय हिन्दु एकता मञ्च नेपाल

