Aamsanchar

आरोप लागेपछि राजीनामा दिने पार्टी एमाले मात्रै : याेगेस भट्टराई

Author Image
बिहिवार, साउन १, २०८२

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले आरोप लागेपछि राजीनामा दिने पार्टी एमाले मात्रै रहेको बताएका छन्।

सचिवालय बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सार्वजनिक पदमा बसेका मन्त्रीहरूले गलत काम गरेको भए सजायको भागीदार हुनुपर्ने बताए।

उनले आरोप लागेपछि पदीय जिम्मेवारीबाट राजकुमार गुप्ताले राजीनामा दिइसकेको र अब छानबिन अघि बढ्ने बताए। विगतमा र अहिले पनि नेकपा एमालेले नै आरोप लागेपछि नैतिकता देखाएर राजीनामा दिएको भन्दै कतिपय घटना प्रमाणित नहुँदा पनि राजीनामा दिएको दृष्टान्त एमालेसँग रहेको बताए।

आरोप लाग्नेबित्तिकै उसको राजनीतिक भविष्य नै सखाप पार्ने गरी जान नहुने र बिना तथ्य र प्रमाण आरोप लगाउन पनि नहुने बताए।

सचिव भट्टराईले भने, ‘बिना तथ्य र प्रमाण त्यसै आरोप लगाउने चलन छ। संघीय मामिला मन्त्रीले राजीनामै दिनुभयो। नेकपा एमालेले नै त्यो दृष्टान्त प्रस्तुत गरेको छ। गोकुलजीको सन्दर्भमा पनि प्रमाणित भएन तर उहाँले राजीनामा दिनुभयो। शेरबहादुर तामाङजीले पनि राजीनामा दिनुभयो। भोलि कतिको प्रमाणित हुन्छ, त्यो हेर्नुपर्छ। आरोप लाग्नेबित्तिकै उसको राजनीति नै सखाप गर्ने गरी जानु हुँदैन। यद्यपि नेकपा एमाले शुद्धिकरणको अभियानमा पनि छ।’

सचिव भट्टराईले भ्रष्टाचारमा दोषी भए स्वतः पदबाट मुक्त हुनुपर्ने बताए। बिनाआधार डाम्ने काम गर्न नहुने बताए।

Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर