

बिर्तामोड । बिर्तामोड १० सैनिक बजारमा हालै सञ्चालनमा आएको सैनिक कलाकेन्द्रले यस क्षेत्रका बालबालिका र युवाहरुलाई कला र नृत्यका क्षेत्रमा अवसर प्रदान गर्ने नयाँ ढोका खोलेको छ। वरिष्ठ नृत्य निर्देशक एलसी श्रेष्ठको अध्यक्षता र बिर्तामोड १० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोहले स्थानिय समुदायलाई नयाँ सम्भावनाहरूको बाटो खोल्ने बताइएको छ ।

सैनिक कलाकेन्द्रमा नृत्यका विभिन्न विधाहरू—शास्त्रीय, हिपहप, जुम्बा, कन्ट्रेम्परी—सहित स्टेज, म्युजिक भिडियो र चलचित्रको लागि नृत्य निर्देशनसमेत गरिने जानकारी दिइएको छ। यस केन्द्रमा प्रशिक्षकहरूको टिममा हेम राजवंशी, बिजय लिम्बू, प्रताप सुनुवार, प्रितम सम्वाहाम्फे, सागर राजवंशी र प्रिन्स राजवंशी जस्ता नृत्यकला शिक्षकहरू रहेका छन्।

उद्घाटन समारोहको क्रममा विभिन्न जातजातिको संस्कृति र नृत्यको प्रस्तुति गरिएको थियो, जसले कार्यक्रममा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्दै कला र संस्कृतिको महत्वलाई पुनः पुष्टि गर्यो।


समारोहको प्रारम्भमा निःशुल्क भर्ना र उद्घाटनको दिन पचास प्रतिशत छुटको व्यवस्था गरिएको थियो, जसले स्थानीय बासिन्दाहरूको उत्साहलाई थप बढायो।

यो केन्द्रले बालबालिकाहरूसँगै युवाहरूलाई पनि कला क्षेत्रमा आवद्ध गराउने सहज वातावरण सिर्जना गर्ने प्रयास गरेको छ। स्थानीय समुदायका लागि यस्तो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण रहेको छ, जसले भविष्यमा कला क्षेत्रमा योग्य कलाकारहरू उत्पादन गर्न मद्दत पुर्याउने छ।
कार्यक्रमको सञ्चालन नृत्य प्रशिक्षक विक्रम गेलालले गरेका थिए।

