Aamsanchar

नवआगन्तुकका स्वागतमा न्युटन्स एकेडेमीको आत्मीय प्रयास

Author Image
शनिवार, साउन ३, २०८२


बिर्तामोड। शैक्षिक वातावरणमा नयाँ ऊर्जा भरिने लक्ष्यसहित बिर्तामोडस्थित न्युटन्स एजुकेशन एकेडेमीले कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूलाई विशेष कार्यक्रममार्फत आत्मीय स्वागत गरेको छ।

विद्यालय अभिभावक संघका अध्यक्ष नरेश भट्टराईको अध्यक्षता र बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष किशोरकुमार पौड्यालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नवप्रवेशीहरूलाई विद्यालयको शैक्षिक वातावरण, नीति तथा अनुशासनबारे विस्तृत जानकारी प्रदान गरियो।

कार्यक्रममा प्लस टु कोअर्डिनेटर केवल सापकोटाले स्वागत मन्तव्य राख्दै विद्यार्थीले पालना गर्नुपर्ने आचारसंहिता प्रस्तुत गरे। नवप्रवेशीको स्वागतमा विद्यार्थी रूवि पाठकले भावपूर्ण गीत प्रस्तुत गर्दा कक्षा १२ का विद्यार्थीहरूले आकर्षक नृत्यमार्फत स्वागत भाव प्रकट गरे।

विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले संस्थापक हरिकुमार प्रसाईको शिक्षादर्शनलाई स्मरण गर्दै जिम्मेवार नागरिक निर्माणका लागि विद्यालय कटिबद्ध रहेको उल्लेख गरे। अभिभावक र विद्यार्थी दुवै शिक्षाप्रति सजग हुनुपर्नेमा उनले जोड दिए।

शैक्षिक सन्देश मात्र होइन, कार्यक्रमले सूचना प्रविधिको प्रयोगलाई पनि जोड दिएको थियो। मोबाइल एपमार्फत अध्ययन र जानकारी आदानप्रदान गर्न सकिने सुविधा सम्बन्धी जानकारी पनि सो अवसरमा दिइयो।

त्रिदेव क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरी घिमिरे, स्वस्तिका आचार्य लगायत अतिथिहरूले नवआगन्तुक विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना दिए। कार्यक्रमको सञ्चालन शिक्षक पवित्रा पौडेलले गरिन्।

शिक्षा र संस्कारको संयोजनलाई मूर्त रुप दिने प्रयासस्वरूप सम्पन्न सो कार्यक्रमले नवप्रवेशी विद्यार्थीहरूको मनमा नयाँ उत्साह भरिदिएको सहभागीहरूको प्रतिक्रिया थियो।

Views: 61

प्रतिक्रिया (०)