Aamsanchar

‘बाँसे काइयो हराएको देश’ (कविता)

Author Image
मङ्गलवार, साउन ६, २०८२

उहिले हाम्रा टाउकामा
फूल झार्दै नाच्थे जुम्रा र लिखा,
चम्कनाका लस्करहरू
टाउकोको वनभोजमा मस्त हुन्थे।
बज्यैका हातले बाँसे काइयो फिँजाउँदा,
पिरामा बसेर आमाले
एक एक लेखा टिपिदिएकी सम्झना—
जिन्दगीको सजीव कथाजस्तै लाग्थ्यो।

कलिलै बालापनमा
ठुङ हानेर जुम्रा मर्नु
जस्तै मीठो रोमाञ्च कहाँ हुन्थ्यो र !
‘लिखे’ भनिनुमा पनि आत्मीयता थियो,
गाउँलेले थाहा पाउँदा पनि
लाज होइन, सम्झना हुन्थ्यो।
आमाको काखमा लेखा झार्दै,
सारंगीको धुन जस्तो
सुनिन्थ्यो त्यो बेलाको पीडा।

तर, आज ती सब
एउटा दन्त्यकथा झैँ लाग्छ।
आजका नानीहरूलाई
त्यो सबै सपना जस्तै हुन्छ।
न टाउकोमा जुम्रा छन्,
न चम्कना, न लिखा—
साफ देखिन्छ सब थोक,
तर भित्रभित्रै बिष पसेको छ।

सबै बालीमा छ विषादी,
दूधमा पनि शंका लाग्छ,
फलफूल चिल्लो, तर स्वाद हराएको छ।
शरीर छैन बिरामी, तर आत्मा थलिएको छ।
जमाना सभ्यताको होइन,
विषादीको भइसकेको छ।

ढाडी त अझै पनि छन् आमा—
तर अब ती रगत चुस्ने कीरा होइनन्,
नस चुस्ने, मन टोक्ने, देश खाइरहेका छन्।
जुम्रा अब केवल टाउकामा होइन,
सत्ता र सिंहासनमा पनि छन्,
लिखा अब स्कुलमा होइन,
व्यवस्थामा गुँड हालेर बसेका छन्।

अब मटितेलले मर्दैनन् ती,
न त बाँसे काइयोले झर्छन्,
ठुङ हानेर टुलुक्क नउठ्ने बने,
उनीहरू अब अमरजस्ता छन्—
किनकि उनीहरू रुपान्तरण भइसके।

बज्यै, आमै!
अनि ती पराले पिरा र त्यो झट्ट टिपिदिने माया,
सब याद आउँछ आज—
जुन समय हामी भन्थ्यौँ: “लाजको हैन, प्रेमको कीरा हो।”

तर आज?
न प्रेम बाँकी छ,
न कीरामा लाज।
साँचो रुपान्तरण त यही रहेछ—
जहाँ कीराभन्दा खतरनाक
मुटुमा, व्यवस्थामा र विचारमा बस्ने कीरा हुन्छन्।\

 कविता चन्द्र भण्डारीको फेसबुकबाट । उहाँले लेखेको गद्य कवितालाई केही रूपान्तरण गरेर प्रकाशन गरिएको हो । 

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर