इलाम । एच.के.आर. इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ यही श्रावण ६ गते, मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध आयाम समेटेर तयार पारिएको टेलिफिल्मले हास्यसँगै गहिरो सामाजिक सन्देश दिन खोजेको निर्माण पक्षले जनाएको छ।

इलामको ऐतिहासिक सिमावर्ती बजार मंगलबारे, सूर्योदय नगरपालिका–१ मा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, बोलीचाली र जीवनशैलीलाई नजिकबाट चित्रण गरिएको छ। हिमाल, पहाड, तराई, छिमेकी भारत तथा विदेशमा बसोबास गर्ने नेपालीको कथासमेत समेटेर समग्र नेपाली समाजको जीवनशैली उजागर गर्ने प्रयास गरिएको निर्माण पक्षको भनाइ छ।

टेलिफिल्मका निर्देशक तथा कथाकार हिकस राईका अनुसार, यसमा हास्य र भावनात्मक दुवै पक्ष समेटिएको छ। “दर्शकले एकछिन हाँसोका खित्का पाउनेछन् भने अर्कोतिर आँसुका थोपा पनि पाउनेछन्,” निर्देशक राईले बताए।

टेलिफिल्ममा इलामे युवा पत्रकार बिक्रम सुन्दासले मोहनलाल पात्रको भूमिका निर्वाह गरेका छन्। त्यस्तै, मोडल मुकेश गुरुङले चुलबुले, साहिल कार्कीले भैरे, विपना लेप्चाले आमा, हेम गेचाले देशी कान्छा, निकिता राईले चाँचरी, कुलमित लेप्चाले ठूली, प्रमोद शुब्बाले सालो, सुचन सम्पाङ राईले छोरा, र निर्देशक हिकस राई स्वयंले विदेशी पात्रको भूमिकामा अभिनय गरेका छन्।
टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ एच.के.आर. इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ।
दर्शकले माया र साथ दिनेमा टिम विश्वस्त रहेको पत्रकार बिक्रम सुन्दासले बताएका छन्।

