Aamsanchar

काँकडभिट्टा नाकाबाट निर्यात भएका वस्तुमा अलैँची पहिलो नम्बरमा

Author Image
मङ्गलवार, साउन ६, २०८२

झापा – पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१/८२ मा निर्यात भएका मुख्य दश वस्तुमा अलैँची पहिलो नम्बरमा छ ।

मेची भन्सार कार्यालयले गएको आर्थिक वर्षमा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार रुपैयाँ बराबरको ४२ लाख ९४ हजार पाँच सय ५० किलोग्राम अलैँची निर्यात भएको जनाएको छ ।

पूर्वी नेपालका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुरलगायत जिल्लामा अलैँचीको उत्पादन हुने गरेको छ । पहाडी जिल्लामा उत्पादित अलैँची प्रशोधित गरेर पूर्वी नाका काँकडभिट्टा हुँदै भारत निर्यात गरिन्छ ।

अलैँचीपछि सबैभन्दा बढी निर्यात भएका दश वस्तुमा फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनियर पत्ती, मोलासिस, अदुवा र सिमेन्टको क्लिङ्कर रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको आर्थिक वर्षमा चार अर्ब ४२ करोड २७ लाख ७२ हजार रुपैयाँ बराबरको तीन करोड ८२ लाख ७१ हजार आठ सय ९७ किलोग्राम फलामे पाता निर्यात भएको छ । सबैभन्दा बढी निर्यात हुने तेस्रो वस्तुमा चिया रहेको छ ।

चिया, अलैँची र अदुवा पूर्वी नेपालको नगदे कृषि उत्पादन हुन् । झापा, इलाम र पाँचथरलगायत जिल्ला चियाखेतीका लागि प्रख्यात छन् ।

यो अवधिमा यही नाका भएर चार अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख १६ हजार सात सय ५७ केजी चिया निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०र८१ को तुलनामा गएको आर्थिक वर्षमा चियाको निर्यात ३२ दशमलव ५ प्रतिशतले बढेको सूचना अधिकारी हुमागाईँले बताउनुभयो ।

आर्थिक वर्ष २०८०र८१ मा तीन अर्ब १७ करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ६६ हजार ३६ किलोग्राम चिया निर्यात गरिएको थियो ।

चियापछि सवैभन्दाबढी निर्यात हुने वस्तुमा प्लाइउड रहेको छ । गएको आर्थिक वर्षमा तीन अर्ब ३२ करोड ८९ लाख ९९ हजार रुपैयाँ बराबरको प्लाइउड निर्यात भएको छ ।

छुर्पी बढी निर्यात हुने वस्तुमा पाँचौँ नम्बरमा छ । दूधबाट बन्ने छुर्पी तेस्रो देशहरुमा कुकुर वा बिरालोको खानाको रूपमा निर्यात हुने गरेको छ ।

गएको आर्थिक वर्षमा एक अर्ब ४१ करोड ७१ लाख चारहजार रुपैयाँ बराबरको आठ लाख १५ हजार पाँच सय पाँच किलोग्राम छुर्पी निर्यात भएको कार्यालयले जनाएको छ ।

त्यहाँबाट निर्यात हुने वस्तुको छैटौं नम्बरमा अम्रिसो, सातौंमा भेनियर पत्ती, आठौंमा मोलासिस, नवौंमा अदुवा र दशौंमा सिमेन्टको क्लिङ्कर रहेको छ ।

गएको एक वर्षमा त्यस नाकाबाट ९५ करोड ६६ लाख ७५ हजार रुपैयाँ बराबरको अम्रिसो, ९४ करोड ५६ लाख ६० हजार रुपैयाँको भेनियर पत्ती, ५१ करोड एक लाख ७३ हजार रुपैयाँको मोलासिस,२९ करोड ६० लाख ९१ हजार रुपैयाँको अदुवा र २८ करोड ४१ लाख आठ हजार रुपैयाँको क्लिङ्कर निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।

Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२