

भद्रपुर । लियो क्लब अफ भद्रपुरको संयोजनमा तथा विभिन्न संघसंस्थाको सहकार्यमा यही श्रावण १० गते (शनिबार) भद्रपुर नगरपालिका वडा नं. ३, ज्ञानेचोकमा रक्तदान महोत्सव आयोजना हुने भएको छ।

कार्यक्रम संयोजक मनिष पौडेलका अनुसार भद्रपुर नगर क्षेत्रमा रगतको माग तीव्र रुपमा बढिरहेको सन्दर्भमा रगतको सहज आपूर्ति सुनिश्चित गर्न र जनमानसमा रक्तदानप्रतिको चेतना फैलाउन महोत्सव आयोजना गरिएको हो।

“यो कार्यक्रममार्फत समाजका विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई रक्तदानप्रति अभिप्रेरित गराउने लक्ष्य लिएको छौं,” संयोजक पौडेलले बताए।
कार्यक्रममा समाजका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ। कार्यक्रममा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रक्तदान संकलन गरिनेछ।
लियो क्लब अफ भद्रपुरका अध्यक्ष सुगम गिरीले कार्यक्रममा सबैको सहभागिता र साथले रक्तदान महोत्सव अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्दै, संलग्न संघसंस्थाहरुलाई कम्तीमा ५ जना रक्तदाता उपलब्ध गराउन हार्दिक आग्रह गरेका छन्।
रक्तदान महोत्सवले आपतकालीन अवस्थाहरूमा आवश्यक पर्ने रगतको आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

