नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास छ। जनताको अधिकारका लागि संघर्ष गर्दै जनयुद्धको नेतृत्व गरेर संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउने श्रेय कम्युनिष्ट आन्दोलनलाई नै जान्छ। तर, यही आन्दोलन ९ पटकसम्म सरकारको नेतृत्वमा पुग्दा पनि आम जनताको जीवनस्तरमा खासै परिवर्तन नआएको गुनासो अब सामान्य आलोचना होइन, स्वयं नेतृत्व तहबाटै उठ्न थालेको छ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पुष्पलाल स्मृति दिवसका अवसरमा राखेको सम्बोधनले यो यथार्थलाई स्पष्ट पारिदिएको छ — “९ पटक कम्युनिष्ट नेतृत्वमा सरकार बन्यो, तर देशको बहुआयामिक गरिबी उस्तै छ।“

नेतृत्वको यात्रा, जनताको अवस्था
कम्युनिष्ट दलहरू नेतृत्वमा रहँदा जनताका पक्षमा जनमुखी नीति ल्याउने, समानताको समाज निर्माण गर्ने, वर्गीय विभेद अन्त्य गर्ने जस्ता आदर्श बोकेका भए पनि व्यवहारमा ती धेरैजसो सत्तामुखी कदममा सीमित रहे।

गाउँदेखि शहरसम्म गरिबी, बेरोजगारी, अशिक्षा, स्वास्थ्य सेवाको अभाव, सीमान्तकृत समुदायको उत्पीडनजस्ता समस्याहरू उस्तै छन्। लाखौं युवा विदेश पलायन भइरहेका छन्। त्यो पलायन रोजगारीको खोजी मात्र होइन, आफ्नै देशप्रति बढ्दो निराशाको अभिव्यक्ति पनि हो।

भ्रष्टाचार : विचार र व्यवहारको टकराव
शर्माले मनमोहन अधिकारीबाहेकका कम्युनिष्ट प्रधानमन्त्रीहरूले असुली धन्दा नै गरेको ठहर व्यक्त गर्नु कुनै आरोप मात्र होइन, जनताको अनुभूतिमा आधारित यथार्थ हो। जब सिद्धान्तमा “जनताको शासन“ भनिन्छ र व्यवहारमा नेताहरू सम्पत्तिको होडमा लाग्छन्, तब विचारमाथि नै प्रश्न उठ्न थाल्छ।
कम्युनिष्ट पार्टीका नेताहरू भ्रष्टाचारको पराकाष्ठा पार गर्न पुगेका समाचारहरू बारम्बार सार्वजनिक भइरहँदा, त्यसले पार्टीको वैचारिक शुद्धता मात्र होइन, जनताको विश्वाससमेत डगमगाउने अवस्था ल्याएको छ।
के फेरिन सक्छ कम्युनिष्ट व्यवहार ?
“९ पटक नेतृत्व गर्दा के फेर्यौं?“ भन्ने शर्माको प्रश्न कुनै सामान्य टिप्पणी होइन, यो कम्युनिष्ट आन्दोलनभित्रको आत्ममूल्यांकनको संकेत हो।
यो चेतावनी पनि हो — यदि व्यवहारमा परिवर्तन आएन भने जनताको समर्थन गुम्ने खतरा बढ्दो छ।
नेतृत्वले भ्रष्टाचार नरोकेसम्म, सत्तामुखी प्रतिस्पर्धा र गुटबन्दी त्यागेर विचार र मूल्यमा आधारित राजनीति नगरेसम्म नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो पुरानो तेज फिर्ता ल्याउन सक्दैन।
कम्युनिष्ट पार्टीहरूका ९ पटकका सरकारहरू जनताको आँखामा ख्यालठट्टा बन्न थालेका छन्। जब परिवर्तनका नाममा सत्तामा पुगेका नेताहरू जनताको जीवनस्तर उकास्न असफल हुन्छन्, तब विचारभन्दा व्यवहारले मुल्यांकन गरिन्छ।
आज जरुरी कुरा के हो भने—कम्युनिष्ट नेताहरूले अब पनि चेत नलिए विचारको बलियो विरासत पतनतर्फ जान सक्छ। कम्युनिष्ट आन्दोलन अझै जनतामुखी बन्न सक्छ, तर त्यसका लागि साहसिक आत्मसमीक्षा, भ्रष्टाचारमुक्त संकल्प र व्यवहारमा वैचारिक इमानदारी आवश्यक छ।

