

विराटनगर – मोरङको लेटाङमा मंगलबार दिउँसो दुर्घटना हुँदा सीटी सफारीमा यात्रा गरिरहेका एक जनाको मृत्यु भएको छ।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले दुर्घटनामा परेर सफारीका यात्रु लेटाङ नगरपालिका–४ का अन्दाजी ३२ वर्षीय जनम तामाङको मृत्यु भएको जानकारी दिए। उनका अनुसार गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याएको केहीबेरमै चिकित्सकले मृत घोषित गरेका हुन्।

मदन भण्डारी लोकमार्गअन्तर्गत लेटाङ–५ मा ‘अनटेस्ट’ सीटी सफारी दिउँसो १:४० बजेतिर दुर्घटनामा परेको लम्सालले बताए। दुर्घटनामा सफारी चालक लेटाङ–४ का ३९ वर्षीय भीषण राईलाई पनि सामान्य घाइते भएका छन्। लेटाङकै एड्भान्स अस्पतालमा उपचारपछि उनलाई प्रहरीले पक्राउ गरेको छ।
दुर्घटनामा परेको सफारीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर राकेश रेग्मी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको हो।


