Aamsanchar

सभामुखलाई बाँसबाट निर्मित सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख

Author Image
बिहिवार, साउन ८, २०८२

खोटाङ – दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वको टोलीले आज सभामुखलाई बाँसबाट निर्मित सामग्री हस्तान्तरण गर्ने भएको छ।

बाँसबाट बनेका सामग्रीहरुको प्रयोगमा जोड दिँदै आएका नगरप्रमुख भट्टराईले आज सभामुख देवराज घिमिरेलाई बाँसको कुर्सी र टेबुल हस्तान्तरण गर्ने बताएका छन्। उनले आज विधान १० बजे सभामुख घिमिरेलाई उक्त सामग्री हस्तान्तरण गर्ने बताए।

उनले भने,– ‘सम्माननीय ज्यूहरुलाई बाँसबाट बनेका सामग्री हस्तान्तरण कार्यक्रम अन्तरगत सभामुखलाई उक्त सामग्री दिन लगेका हौं। आजै सम्भवत् उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई पनि हस्तान्तरण गर्छौ। त्यसपछि ११ गते अगाडि नै राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई बुझाउने छौं।’

 

बाँसको प्रयोगमा सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग राख्दै भोक हड्ताल गर्ने घोषणा गरेर गत आइतबार मेयर भट्टराई काठमाडौं आइपुगे हुन्। उनले आर्थिक समृद्धिका लागि बाँस तथा बाँसजन्य कच्चा पदार्थलाई प्रयोग गर्ने नीतिगत व्यवस्था हुनुपर्ने बताएका छन्।

जताततै पाइने बाँसलाई प्रयोग गरेर आर्थिक आम्दानी लिने वातावरण निर्माणका लागि सङ्घीय सरकारको ध्यानाकर्षणका लागि सत्याग्रहको घोषणा गरिएको नगरप्रमुख भट्टराईको भनाइ छ।

साउन ११ गते माइतीघर मण्डलामा भोक हड्ताल गर्ने उनको तयारी छ। तीन दिनसम्म दैनिक बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म भोक हड्तालमा बस्दा पनि माग सुनुवाइ नभए साउन १४ गते बिहान ९ बजेदेखि आमरण अनशन बस्ने उनी बताउँछन्।

नेपाली कांग्रेसबाट मेयर निर्वाचित उनले बाँसबाट बनेका सामग्री प्रयोग गरिरहेका छन्। बाँसको महत्त्वलाई उजागर गर्नका लागि नगरपालिकाले गत २०८१ फागुन १५ गतेदेखि फागुन १७ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गरेको थियो।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर