
फोटो श्रोत : रातोपाटी

काठमाडौं । संसद् विशेष — नेपालको संघीय संसद्ले अहिले कानुन निर्माणका अतिरिक्त एक नयाँ पहिचान बनाउँदै छ — निद्रा अनुसन्धान केन्द्रको! यसै सन्दर्भमा, बुधबारको प्रतिनिधि सभा बैठक एउटा “सुत्नेजस्ता ऐतिहासिक क्षण“ को साक्षी बन्यो।

शून्य समय चलिरहेको थियो — देशको दशा, नीति र जनताको पिरलोमाथि बहस हुँदै थियो — तर सूचना प्रविधिमा क्रान्ति ल्याउने जिम्मा पाएका मन्त्री पृथ्वी सुब्बा गुरुङ भने गभिर विषय भन्दा बाहिर, गहिरो सुतिरहेका थिए । गजब त तब भयो जब देशकै प्रधानमन्त्री केपी शर्मा ओली सभा हलमा प्रवेश गरे। मन्त्रीहरू सामान्यतः यस्तो बेलामा सम्मानस्वरूप उठ्ने गर्छन्, हात जोड्ने गर्छन्। तर गुरुङ जी भने सपनामा शायद मिडिया रणनीति बनाइरहेका थिए।

गुरुङको पछाडि बसेका रक्षा मन्त्री मानवीर राईले उनलाई हल्का ‘डिफेन्स’ गर्न खोजे – हल्लाएर उठाउने प्रयास गरे – तर गुरुङजीको निद्राको फायरवाल यति बलियो रहेछ कि जागा नहुने अठोटमा उनी अडिग देखिए। यसपछि प्रधानमन्त्री आफैँले हल्काफुल्का मुस्कानसहित “सुत्न दिनुस“ भन्दै आफ्नो सिटतर्फ बढे – त्यो पनि संसदकै रेकर्डमा रहन लायक क्षण!



फोटो श्रोत : रातोपाटी
अब प्रश्न उठ्छ – यो संसद् हो कि सुत्ने होस्टेल? बहसको बीच मोबाइल चलाउने, चिया मगाउँदै गफगाफ गर्ने अनि निदाउने — के सांसदहरूको यस्तो क्रियाकलाप जनताले हेर्नुपर्ने बाध्यता हो?
के यो व्यावसायिक लापरवाही हो या जनता प्रतिको बेइमानी? कम्तीमा जनताले भने अब सांसदहरूको क्लासिक निद्रा मोड लाई संसद्को नयाँ परम्परा मान्न थालेका छन्।

