Aamsanchar

झापा रक स्टार २०८२ को तयारी पूरा, साउन १० गतेदेखि प्रारम्भिक अडिसन सुरु

Author Image
बिहिवार, साउन ८, २०८२

बिर्तामोड- झापाको बिर्तामोडमा हरेक वर्ष आयोजना हुँदै आएको ‘झापा रक स्टार’ नामक प्रतिष्ठित वार्षिक सांगीतिक प्रतियोगिताको तयारी पूरा भएको छ। अमृत स्टोर बिर्तामोडको आयोजनामा हुने सो कार्यक्रमको यस वर्षको संस्करणमा झापाभरिका सामुदायिक तथा निजी विद्यालयहरूका कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुँदैछन्।
कार्यक्रम संयोजक सुनिता तामाङका अनुसार यसपटकको झापा रक स्टार प्रतियोगिताको दर्ता फारम असार १५ गतेदेखि खुल्ला गरिएको थियो भने आज साउन ८ गतेबाट दर्ता बन्द गरिएको छ। उनले जानकारी दिइन् कि साउन ८ पछि प्राप्त फारमहरू मान्य नहुनेछन्।
साउन १० मा प्रि-अडिसन
प्रतियोगिताको पहिलो चरण अन्तर्गतको प्रि-अडिसन यही साउन १० गते बिर्तामोडस्थित मोक्ष कार्यक्रमस्थलमा सञ्चालन हुने आयोजकले जनाएको छ। प्रारम्भिक छनोटपछि उत्कृष्ट ६ वटा ब्यान्डहरू दोस्रो चरण (लाइभ अडिसन) मा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछिको फाइनल चरणको मिति र स्थानबारे आयोजकले छुट्टै जानकारी दिनेछन्।
नियम तथा शर्तहरू
प्रतियोगितामा सहभागी प्रत्येक ब्यान्डमा कम्तीमा पाँच जना सदस्य अनिवार्य हुनु पर्नेछ भने तीमध्ये एकले नेपाली लोक वाद्ययन्त्र बजाउनुपर्नेछ। दोस्रो चरणबाट फाइनलमा प्रवेश गर्ने ब्यान्डहरूले आयोजकलाई प्रस्तुति विवरण पूर्व जानकारी गराउनुपर्नेछ।
प्रतिष्ठित निर्णायक मण्डल रहने
फाइनल चरणमा देशका ख्यातिप्राप्त संगीतकर्मीहरू निर्णायकको भूमिकामा रहनेछन्। निर्णायक मण्डलको निर्णय अन्तिम र बाध्यकारी मानिने कार्यक्रम का निर्देशक अमृत पौडेलको भनाई छ ।
कार्यक्रमका उद्देश्यहरू
कार्यक्रमको प्रमुख उद्देश्य नेपाली संगीत, संस्कृति र लोक वाद्यको जगेर्ना गर्नुका साथै विद्यार्थी तथा युवामा संगीत साधनप्रतिको आकर्षण बढाउनु रहेको निर्देशक  पौडेलले बताए। साथै, म्युजिक ट्रयाक कल्चरको सट्टामा लाइभ ब्यान्ड कल्चर को प्रवर्द्धन गर्नु पनि मुख्य लक्ष्य रहेको उनले जनाए।
संगीतलाई मानव जीवनको अभिन्न अंग मान्दै आयोजना हुँदै आएको यो प्रतियोगिता विद्यार्थीहरूका लागि सिर्जनात्मक अभिव्यक्तिको महत्वपूर्ण मञ्च बन्ने विश्वास आयोजकले लिएका छन्।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर