

विराटनगर – नेपाल प्रहरीले पछिल्लो १ वर्षको अवधिमा मोरङबाट ५ करोड ५६ लाख रूपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ। आर्थिक वर्ष २०८१–०८२ मा ५ करोड ५६ लाख ७० हजार २ सय ९७ रूपैयाँ बराबरको तस्करीका सामान प्रहरीले नियन्त्रणमा लिएको हो।

अघिल्लो वर्षको तुलनामा भन्सार छली गरिएका सामान पाँचगुना बढी बरामद गरिएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०८०–०८१ मा प्रहरीले १ करोड ४४ लाख २८ हजार ४ सय ४४ बराबरको अवैध सामान बरामद गरेको थियो। प्रहरीले भन्सार छलीका अवैध सामान नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवं कारबाहीका लागि भन्सार वा राजस्व अनुसन्धान कार्यालयमा बुझाउने गरेको छ।


२०८१–०८२ मा सबैभन्दा बढी असोज महिनामा १ करोड ६७ लाख ५३ हजार ५ सय ७६ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको छ। विशेष गरेर चाडपर्वका बेला नेपाल–भारत सीमा क्षेत्रबाट अत्यधिक तस्करी हुने गरेको छ। असोज ठूला चाडपर्वको समय भएको र उक्त महिनामा सबैभन्दा बढी सामान बरामद गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।
उनका अनुसार साउनमा १६ लाख ३० हजार ४ सय ४५, भदौमा ४२ लाख ५१ हजार ४ सय ६०, कात्तिकमा ३७ लाख २७ हजार ६ सय ९२, मंसिरमा ३६ लाख ५६ हजार ८ सय ५९, पुसमा ३१ लख ३७ हजार ७ सय ३४ र माघमा ३१ लाख ८५ हजार ४ सय १३ रूपैयाँ बराबरको सामान बरामद भएको छ। त्यस्तै, फागुनमा ६५ लाख ३९ हजार ६ सय ४६, चैतमा २२ लाख २१ हजार ७ सय, वैशाखमा ३४ लाख १ हजार ९ सय ८०, जेठमा ३१ लाख २५ हजार ९ सय ८२ र असारमा ४० लाख ३७ हजार ८ सय १० रूपैयाँ बराबरको सामान बरामद गरिएको जानकारी चुँडालले दिइन्।
उनले भनिन्, ‘नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै हुने गरेको अवैध ओसारपसार ९तस्करी० लामो समयदेखि गम्भीर चुनौतीको विषय बनिरहेको छ।’ तर, पछिल्लो समय तस्करी नियन्त्रण अभियान चलाएको मोरङ प्रहरीले ठूलो मूल्यका अवैध सामान बरामद गरेको तथ्यांकले देखाउँछ। तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय मोरङले इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा विशेष टोली परिचालन गरेको छ। त्योबाहेक प्रहरीका विभिन्न युनिटले विशेष भूमिका निर्वाह गरिरहेका छन्।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले सीमा क्षेत्रमा तैनाथ अन्य सुरक्षा निकायसँगको समन्वय, सूचनाका आधारमा निगरानी र नियमित चेकजाँचको प्रक्रियामा तीव्रता दिएपछि भन्सार छली एवं चोरी तस्करी नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त भएको बताए। मोरङ भारतसँग प्रत्यक्ष खुला सीमा रहेको जिल्ला हो। भारतसँगको व्यापारिक नाकासमेत रहेकाले दैनिक धेरै संख्यामा मानिसको ओहोरदोहोर हुन्छ। ठूलो परिमाणमा मालसामानको ओसारपसार गरिन्छ।
यसकै आडमा भारतबाट नेपालतिर लत्ताकपडा, किराना सामान, रजनीगन्धासमेतका गुट्खाजन्य वस्तु, गाडीका पार्टपुर्जा, औषधि, खाद्यान्नलगायतका वस्तुको तस्करी हुने गरेको छ। नेपालबाट भारततिर हरियो मटर, स्याउ, सुपारी, लसुन, मदिरालगायत तस्करी हुने गरेको छ। यस्तो गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दै तस्करी रोक्ने अभियान तीव्र पारेर भन्सार कार्यालय, अन्य सुरक्षा निकाय, सादा पोसाकका प्रहरी र स्थानीय प्रहरी इकाईमार्फत सीमा क्षेत्रमा निगरानी बढाइएको एसपी चिमरियाको भनाइ छ।
मोरङका रानी, बखरी, कर्सिया, रंगेली, भुटाहा, सिक्टीलगायतका १ दर्जन नाका तस्करीका लागि चर्चित छन्। तस्करीका लागि प्रयोग हुने मुख्य नाकामा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी चिमरियाले दिए। विशेष गरी रातको समयमा तथा धार्मिक मेलाका अवसरमा सीमामा चहलपहल बढी हुने भएकाले त्यस्ता अवसरलाई तस्करको समूहले दुरुपयोग गर्दै आएको छ।
सूचना संकलनदेखि नाकामा विशेष चेकिङसम्मका उपाय अवलम्बन गर्न थालेपछि तस्करी न्यूनीकरण हुन थालेको दाबी प्रहरीको छ। ‘हामीले नाकामा कडाइ गरिरहेका छौं। विशेष गरी सीमाका साना व्यापारीहरू र ढुवानीमा संलग्न व्यक्तिहरूमाथि निगरानी राखिएको छ। विगतमा कानुनी कमजोरी, स्रोतको अभाव र तस्करहरूको सञ्जाल बलियो हुँदा नियन्त्रणमा समस्या थियो। तर, अहिले समन्वयात्मक प्रयासले परिणाम दिन थालेको छ,’ एसपी चिमरियाले भने।
उनका अनुसार भारतबाट नेपालमा आउने अवैध औषधि, खाद्य सामग्री र कपडाको मात्रा घटेको छ भने नेपालबाट भारत पठाइने सुपारी, गुट्खा, मदिरा र सुन चाँदी नियन्त्रणमा लिइएको छ। सीमामा स्थायी चेक पोस्ट, मोबाइल गस्ती र विशेष अपरेसनका माध्यमबाट निगरानीलाई व्यवस्थित बनाइएको उनले बताए। प्रहरीले सीमावर्ती क्षेत्रका बासिन्दासँग पनि सहकार्य बढाएको छ।
तस्करी नियन्त्रणका लागि समुदायबाट सुराकी संकलन, गोप्य सूचनाको प्रयोग र स्थानीय प्रशासनको सहकार्यमा कारबाही अघि बढाउने गरिएको प्रहरीले जनाएको छ। चिमरियाले सीमावर्ती बस्तीमा तस्करीका विषयमा सचेतना फैलाउने कार्यक्रम पनि सञ्चालन गरिएको बताए। केही व्यापारी र तस्करीबाट प्रत्यक्ष लाभ लिने पक्षले सीमामा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको भन्दै असन्तुष्टि व्यक्त गर्ने गरेका छन्।
तर, मोरङ प्रहरीले भने कानुनी प्रक्रिया अनुसार निगरानी र नियन्त्रण अभियान सञ्चालन गरिरहेको उनको भनाइ छ। तस्करीविरुद्धको अभियानलाई अझै प्रभावकारी बनाइने चिमरियाले बताए। सुरक्षात्मक निगरानी प्रणाली सुदृढ बनाएर स्थानीय तह, सीमा क्षेत्रका बासिन्दा र सरोकारवालासँगको सहकार्यमा नेपाल–भारत सीमामा भइरहेका तस्करी नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको उनको भनाइ छ। एसपी चिमरियाले तस्करी रोक्दा दीर्घकालीन रूपमा राज्यको राजस्व वृद्धि हुनुका साथै सुरक्षा मजबुत भएर आपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने उल्लेख गरे।

