बिर्तामोड। विश्वप्रसिद्ध हेन्ली पासपोर्ट इन्डेक्स २०२५ अनुसार नेपालको राहदानी विश्वका ९९ मुलुकमध्ये ९२औं स्थानमा रहेको तथ्याङ्कले फेरि एकपटक नेपाली नागरिकको अन्तर्राष्ट्रिय पहिचान र कूटनीतिक हैसियतमाथि गम्भीर प्रश्न उठाएको छ। नेपालको पासपोर्ट अहिले द्वन्द्वग्रस्त मुलुकहरू—दक्षिण सुडान, नाइजेरिया, सोमालिया, यमनजस्ता देशहरूसँगै पुछारतिर गनिएको छ।

यो तथ्य केवल एक वरीयता सूची होइन, यो नेपालको अन्तर्राष्ट्रिय छवि, कूटनीतिक प्रभाव र शासकीय क्षमताको सूचक हो। जब नेपालजस्तो लोकतान्त्रिक मुलुकको राहदानी उत्तर कोरियाजस्तो बन्द र एक्लिएको देशभन्दा पनि कमजोर ठहरिन्छ, तब यो केवल तथ्याङ्कको कुरा होइन, गम्भीर राष्ट्रिय आत्मसमीक्षाको विषय बन्छ।

कमजोर राहदानीको कारण के?
विश्लेषकहरूका अनुसार नेपालको राहदानी कमजोर हुनुका पछाडि बहुआयामिक कारण छन्। प्रमुख कारणहरूमा निम्न विषयहरू पर्दछन्ः

भ्रष्टाचार र कुशासनः
नेपाल ट्रान्सपरेन्सी इन्टरनेसनल लगायतका संस्थाहरूको मूल्याङ्कनमा लगातार उच्च भ्रष्टाचार भएको मुलुकको सूचीमा पर्छ। कुशासन, अकर्मण्यता र पारदर्शिताको अभावले अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि कमजोर बनाएको छ।

राजनीतिक अस्थिरताः
बारम्बार सरकार परिवर्तन, पार्टीगत खिचातानी र दीर्घकालीन दृष्टिकोणको अभावले वैदेशिक नीति कमजोर बनेको छ। अन्तर्राष्ट्रिय सम्बन्धमा गहिरो भरोसा कायम गर्न सकिएको छैन।
कूटनीतिक अपरिपक्वताः
नेपालसँग १७७ देशसँग कूटनीतिक सम्बन्ध भए पनि त्यो सम्बन्ध केवल कागजी अस्तित्वमा सीमित छ। सक्रिय कूटनीतिक संवाद, आपसी विश्वास र द्विपक्षीय लाभको सम्भावना कमजोर देखिन्छ।
अनियन्त्रित श्रम आप्रवासन र मानव तस्करीको छायाँः
नेपाली नागरिकहरू प्रायः श्रमिकका रूपमा विदेश जान्छन्। केही घटनामा अवैध आप्रवासन र मानव तस्करीको संलग्नता देखिने हुँदा विदेशी अध्यागमन निकायहरूले नेपाली पासपोर्टप्रति अविश्वास देखाउँछन्।
यो अवस्था कहिलेदेखि?
नेपालको राहदानी वरीयता पछिल्लो दशकमा लगातार खस्किएको छ। सन् २०१० को दशकको सुरुवातमा नेपाल ८०औं स्थानमा थियो, जुन आज ९२औंमा झरेको छ।
विशेषतः २०१५ को संविधान निर्माणपछि देखिएको राजनीतिक अस्थिरता, सरकारको नीति निर्मातामा अडानको अभाव, र बढ्दो भ्रष्टाचारले नेपालको राहदानीलाई अन्तर्राष्ट्रिय स्तरमा अविश्वसनीय बनाएको हो।
यात्रुहरूका लागि अपमानजनक अनुभव
नेपाली राहदानी लिएर यात्रा गर्ने अधिकांश नागरिकले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा हुने अपमानजनक व्यवहार, अनावश्यक केरकार र संकास्पद निगाहको अनुभव गर्नुपरेको बताउँछन्। राहदानीको रंग हेरेर व्यवहार गरिने संस्कृति आजको यथार्थ बनेको छ।
धेरैजसो नेपालीलाई भिसा प्राप्त गर्न झन्झटिलो प्रक्रिया पार गर्नुपर्छ, जसको मूल कारण हाम्रो राहदानीप्रतिको अविश्वास हो।
के गर्नुपर्छ सुधारका लागि?
विशेषज्ञहरू भन्छन् – राहदानी केवल एउटा कागज होइन, यो राष्ट्रको पहिचान हो। यसको सम्मान बढाउन निम्न कदमहरू आवश्यक छन्ः
सुशासनको प्रवद्र्धनः पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कानुनी संरचना निर्माण गर्नुपर्छ। आर्थिक सुधारः मुलुकको अर्थतन्त्र सबल हुँदा मात्रै अन्तर्राष्ट्रिय समुदायको विश्वास बढ्छ।
कूटनीतिक सक्रियताः द्विपक्षीय र बहुपक्षीय सम्बन्धहरूलाई विश्वासमा रूपान्तरण गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति प्रभावशाली बनाउनुपर्छ। श्रम आप्रवासनमा नियमनः अवैध आप्रवासन रोक्न कडाइ गर्नुका साथै वैदेशिक रोजगारीमा जाने नेपालीहरूको क्षमता अभिवृद्धि गर्न आवश्यक छ।
नेपालको कमजोर राहदानी केवल व्यक्तिगत यात्राको असहजता होइन, यो समग्र राष्ट्रको असफल शासन, कमजोर कूटनीति र गिरिरहेको अन्तर्राष्ट्रिय साखको उपज हो। यदि हामीले देशभित्र सुशासन, आर्थिक सबलता र पारदर्शिता कायम गर्न सकेनौं भने राहदानीको रंग जेसुकै भए पनि मूल्य घटिरहन्छ। त्यसैले राहदानी सशक्त बनाउने मूल सूत्र शासन, प्रशासन र कूटनीतिक हैसियत सुधारमा नै निहित छ।

