Aamsanchar

झापाको मेचीनगरमा डग स्न्यापिङ अभियान : लागुऔषधसहित तीन जना पक्राउ

Author Image
शुक्रवार, साउन ९, २०८२

झापा । झापाको मेचिनगर नगरपालिकामा लागुऔषध नियन्त्रण तथा सम्भावित अपराध रोकथामका लागि डग स्न्यापिङ अभियान सञ्चालन गरिएको छ। अभियानका क्रममा लागुऔषध सेवन र कारोबारमा संलग्न तीन जना पक्राउ परेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय, धरानस्थित केनाईन शाखाबाट खटिएको डग स्न्यापिङ टोलीले मेचिनगर–९ र १० का विभिन्न स्थानमा साउन ८ गते साँझ ५ बजेबाट डग प्रयोग गरी चेकजाँच गरेको थियो।

प्रहरीका अनुसार डग स्न्यापिङ टोलीले मेचिनगर–९ अन्तर्गत झोडा, लिलाबस्ती र खुट्टिडाँगी क्षेत्र तथा मेचिनगर–१० अन्तर्गत पाथीभरा टोल, खयरडाँगी र दनुवार बस्ती क्षेत्रमा निगरानी सञ्चालन गरेको हो।

अभियानका क्रममा तीन जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मेचिनगर–९ झोडाका २४ वर्षीय रोशन डाँगी रहेका छन्। उनको साथबाट ट्रामाडोल क्याप्सुल ६८ वटा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, २२ वर्षीय अर्जुन दर्जी लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन्।

अर्का एक जना, २८ वर्षीय रविन राजवंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसालो पदार्थ बरामद भएको छ। बरामद पदार्थमध्ये प्लास्टिकसहित १ ग्राम ४२० मिलिग्राम तथा प्लास्टिकबाहेक १ ग्राम १९० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूमाथि इलाका प्रहरी कार्यालय धुलाबारीमा थप अनुसन्धान भइरहेको छ।

Views: 165

प्रतिक्रिया (०)