

विस्वव्यापी समस्याका रूपमा देखिएको लागू औषध (ड्रग) को उत्पादन, विक्री–वितरण र सेवनले समाजका हरेक तहमा गम्भीर संकट उत्पन्न गराएको छ। देशका युवायुवती उत्पादनशील र सिर्जनशील क्षमताबाट विमुख भई नशाको दलदलमा फस्नु, राज्य प्रणालीमाथि नै गम्भीर प्रश्न उठ्ने स्थितिमा पुग्नु, अत्यन्तै दुःखद यथार्थ हो।

यस्तो संकट समाधानको जिम्मेवारी पाएको राजनीतिक नेतृत्व, प्रहरी प्रशासन, न्यायिक संयन्त्र र सञ्चार माध्यम नै जब निष्क्रिय, मौन, वा संरक्षणकारी देखिन्छन्, तब प्रश्न उठ्छ – “ड्रग माफिया खरेलहरू पक्राउ नपर्नुमा दोषी आखिर को?”

केवल “खरेल” दोषी होइनन् – संरक्षक दोषी छन् !
भानुभक्त खरेल – विर्तामोडका एक राजनैतिक हैसियत भएका व्यक्ति, सनलाइट फर्माका सञ्चालक, एमाले निकट स्वास्थ्यकर्मी संघका उपाध्यक्ष – को गोदामबाट प्रतिबन्धित लागू औषधहरू ठूलो मात्रा बरामद भयो। तर खरेल फरार छन्, र पक्राउ परेका व्यक्ति केवल सहयोगी, साना भरियाहरू मात्र हुन्।
प्रहरी प्रेस ब्रिफिङमा खरेलको नाम उच्चारण गरिँदैन, प्रमुख सञ्चार माध्यम मौन छन्, अनुसन्धान अघि नबढेको देखिन्छ – यसको कारण के हो ? कारण हो – राजनीतिक संरक्षण, आर्थिक चलखेल र प्रशासनिक मिलेमतो।
किन प्रहरी मौन ? किन मिडिया चुप ?
“स्रोतका अनुसार” भन्ने शैलीमा खबर आउँछ, तर नाईकेहरू पक्राउ पर्दैनन्। प्रहरी सक्रियता जनताका लागि “शो” बनेको छ, अनुसन्धान तर्फ वास्तविकता भन्दा ‘मिडिया ब्याज’ धेरै देखिन्छ। यसबारे प्रश्न उठाउनु आजको आवश्यकता होः
किन सामान्य सिगरेट बोक्ने युवा पक्राउ पर्छन् तर हजारौंको कारोबार गर्ने खरेलहरू उन्मुक्ति पाउँछन् ? किन राजनीतिक पहुँच भएका व्यक्तिहरूका विषयमा प्रहरी ‘अनकनाउने’ गर्छ? पत्रकारिताले किन सत्यको पक्षमा कलम चलाउन सक्दैन?
सिस्टम नै सडेको छ, दोषी केवल व्यक्ति होइन! आज लागू औषधको चक्रव्यूह चलाउनेहरू – राजनीति भित्र छन्, सामाजिक संस्थाका अगुवा बनेका छन्, कल्ब, खेलकुद, युवासंघ, एनजीओका नाममा ढाल बनाएका छन्। उनीहरूः विद्यालय छेउमै होटल खोल्छन्, रात्री भोज–महोत्सवमा प्रहरी र नेतासँग उठबस गर्छन्, अनि सामाजिक सेवा नाममा ‘ड्रग्स धन्दा’ लाई सामान्यिकरण गर्छन्। यो संरचनात्मक समस्या हो, जसको जडमा प्रहरीको छायाँ सहमति, राजनीतिक संरक्षण र पैसाको चलखेल छ।
के गर्न सकिन्छ?
१. सुनवाईयोग्य अनुसन्धानः
खरेल जस्ता मुख्य नाइकेलाई जफत आदेशसहित अनुसन्धानमा ल्याइयोस्। सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत सम्पूर्ण चल–अचल सम्पत्तिको स्रोत खोजियोस्। प्रहरी रणनीति पुनरावलोकनः स्कुल कार्यक्रममा मात्र सीमित नरही व्यावसायिक अनुसन्धानात्मक संयन्त्र विकास गरियोस्। प्रहरीभित्रको उठबस, आचरण र स्वार्थ–संलग्नता निरन्तर निगरानीमा ल्याइयोस्। समाज–प्रशासन संयोजनः होटल, बार, मेडिकल र गोदाम नियमनमा स्थानीय सरकारको भूमिका सुनिश्चित गरियोस्। सञ्चार माध्यमले ‘पेड प्रमोशन’ मा होइन, सत्य तथ्यमा आधारित रिपोर्टिङ गरून्।
जनसहभागिताः
हाम्रा छोराछोरी कसको हातमा पर्छन् भन्ने चिन्ताबाट अब कार्यमा रूपान्तरण गरौं। नागरिक समाज, सचेत समूहहरू, अभिभावक र शिक्षक सबै मिलेर नशा विरुद्धको सामूहिक दबाब सिर्जना गरौं। भानुभक्त खरेल मात्र होइनन्, यस्ता सयौं नाम नभएका तर सञ्जालभित्र गहिरो रूपमा संलग्न पात्रहरू छन्। उनीहरू सबैलाई कानूनको कठघरामा ल्याउन राज्य संयन्त्रले आँट गर्नुपर्छ। यदि खरेलहरूलाई पनि फेरि जोगाइयो, यदि प्रहरी फेरि मौन रह्यो, यदि मिडिया फेरि मुख फे¥यो, भोलि तपाईंको घरको बच्चा नशाको दलदलमा डुब्न सक्छ – त्यो दिन आएपछि न्यायको माग नगर्नुहोस्। सक्ने हो भने, आजैबाट आवाज उठाऔं – ‘खरेल’ मात्र होइन, खरेल जस्ता संरक्षित माफियाहरूको सम्पूर्ण सञ्जाल ध्वस्त पार!
केही प्रहरीको कार्यशैलीले सिंगो प्रहरी संगठन बदनाम भइरहेछ। सत्यनिष्ठ प्रहरी सेवकहरूका लागि यो घडी सुधारको अवसर हो। अन्यथा, इतिहासले क्षमा गर्ने छैन।
लेखक ओली लागुऔषध विरुदका एक अभियन्ता प्रशिक्षक हुन उनी चेतना नेपालका अध्यक्ष पनि हुन ।

