

ईलाम : “आफ्नो गाउँ आफैं बनाऔं” भन्ने नारालाई आत्मसात् गर्दै सुर्योदय नगरपालिका–६ तारगाउँ उत्तरे टोलका युवाहरूले गाउँको समग्र विकासमा सक्रिय भूमिका खेलिरहेका छन्।

स्थानीय विकासप्रति जिम्मेवार भावना राख्दै उनीहरूले गत हप्ता र आज गरी दुई दिनसम्म निरन्तर सरसफाइ तथा मर्मत कार्यमा सहभागिता जनाएका छन्। पैदलयात्रीहरूको सहज आवागमनका लागि कच्ची बाटोको मर्मत गर्नुका साथै गुराँस फुल रापने, पानीको मुहान क्षेत्रको सफाइ र संरक्षणमा समेत उनीहरू सक्रिय देखिएका छन्।



सडक सुधार, सरसफाइ अभियान, खानेपानी स्रोतको संरक्षण, विद्यालय सुधार, र रूखरोपणजस्ता गतिविधिमा सामूहिक श्रमदानमार्फत युवाहरूले श्रम, समय र सीपको योगदान दिँदै आएका छन्।

यी अभियानले तारगाउँको भौतिक सुधार त गरेका छन् नै, साथै युवाहरूमा नेतृत्व क्षमता र सामाजिक एकताको भावना समेत विकास गराएका छन्। यो अभियान अन्य समुदायहरूका लागि पनि प्रेरणाको स्रोत बन्दै गएको छ।

