Aamsanchar

इनर ह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सातौँ पदस्थापन सम्पन्न, नेतृत्व लुना बस्नेतको जिम्मामा

Author Image
आइतवार, साउन ११, २०८२

बिर्तामोड । इनर ह्वील क्लब अफ बिर्तामोड मिडटाउनको सातौँ पदस्थापन कार्यक्रम शनिबार एक विशेष समारोहबीच सम्पन्न भएको छ। बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित समारोहमा लुना बस्नेतले क्लबको अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरेकी हुन्।

पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष बस्नेतले आफ्नो कार्यकाललाई अहिलेसम्मकै उत्कृष्ट बनाउने प्रतिबद्धता जनाएकी छिन्। उनले क्लब सदस्यहरूको सक्रियता र सहयोगका आधारमा लागू औषध दुव्र्यसन न्यूनीकरण, लैङ्गिक हिंसा विरुद्धका अभियान, सामाजिक सेवा, र सचेतना अभिवृद्धि जस्ता कार्यक्रम सशक्त रूपमा सञ्चालन गरिने जानकारी दिइन्।

डिस्ट्रिक्ट चिफ कमला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा श्रेष्ठले इनर ह्वील क्लबले गर्न सक्ने विविध सामाजिक कार्यबारे प्रकाश पार्दै यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘शान्तिका लागि महिला, सेवाका लागि प्रेरणा’ बारे जानकारी गराइन्।

त्यस अवसरमा सन् २०२४–२५ की तत्कालीन अध्यक्ष जुनु विमली उप्रेतीले आफ्नो कार्यकालमा सम्पन्न कार्यक्रमहरूको विवरण प्रस्तुत गरेकी थिइन्। कार्यक्रमको स्वागत मन्तव्य क्लबकी संस्थापक अध्यक्ष भूमिका पोखरेलले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन कमला पौडेलले गरेकी थिइन्। धन्यवाद ज्ञापन मुनमुन अग्रवालले गरेकी थिइन्।

इनर ह्वील क्लब एक अन्तर्राष्ट्रिय महिला स्वयंसेवी संस्था हो, जसले शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, वातावरण संरक्षणजस्ता विविध सामाजिक क्षेत्रमा क्रियाशीलता प्रदर्शन गर्दै आएको छ। रोटरी क्लबसँग सहकार्यमा रहँदै इनर ह्वील क्लबले समाज परिवर्तनमा सशक्त भूमिका खेल्दै आएको छ।

 

 

 

 

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर