झापा। झापामा भारतीय नागरिकहरू लागुऔषध कारोबारमा संलग्न भई सक्रिय हुन थालेको पृष्ठभूमिमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ।

साउन १० गते दिउँसो भद्रपुर नगरपालिका–५ मा विशेष सूचनाको आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले भारतको किसनगंज कोल्लिकोट निवासी ३६ वर्षीय मोहमद इस्लामलाई पक्राउ गरेको हो।

इस्लामको साथबाट १०७ ग्राम १०० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि उनलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीलाई नै हातपात गरे। आत्मरक्षामा प्रहरीले दुई राउण्ड गोली प्रहार गरेपछि उनको बायाँ खुट्टाको घुँडामुनि गोली लागेको थियो।

घाइते इस्लामलाई तत्काल धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)मा लगिएको छ, जहाँ उनी अहिले प्रहरीको निगरानीमा उपचाररत छन्।


प्रहरीका अनुसार झापा क्षेत्र हुँदै लागुऔषध तस्करीमा संलग्न भारतीय नागरिकहरूको संलग्नता बढ्दै गएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।

