Aamsanchar

वडा कार्यालयबाट अनुमति बेगर विवाह गरेमा कारबाही

Author Image
मङ्गलवार, साउन १३, २०८२

वीरगन्ज – पर्साको पटेर्वा सुगौली गाउँपालिका-५ मा अब कसैले पनि विवाह गर्नु परे वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।

मंगलबार वडाध्यक्ष विपिन मुखियाको अध्यक्षतामा बसेको वडा कार्यपालिकाको बैठकले वडा कार्यालयबाट अनुमति बेगर कसैले पनि विवाह गरेमा कारबाही गर्ने निर्णय पनि गरेको छ। वडालाई बालविवाह मुक्त बनाउनका लागि यस्तो निर्णय गरिएको वडाध्यक्ष मुखियाले बताए।

उनका अनुसार मंगलबार बसेको बैठकले वडा नम्बर ५ मा कसैले पनि विवाह गर्नुपूर्व वडा कार्यालयबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने निर्णय गरेको हो। यस्तै विवाह गर्नका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने, वडा कार्यालयको स्वीकृति बेगर तथा २० वर्ष उमेर नपुगी विवाह गरेमा वडा कार्यालयबाट नियमानुसार कारबाही गर्ने निर्णय पनि गरिएको वडाध्यक्ष मुखियाले बताए।

यस्तै बैठकले बालविवाह प्रथा निर्मूल गर्नका लागि वडाको घरघरमा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको वडाध्यक्ष मुखियाले जानकारी दिए। बैठकले गरेको निर्णयमा वडाध्यक्ष मुखियासँगै वडा सदस्यहरू मदन मिश्र, पारस साह कानु, रजमतिया देवी दुसाद र नूरबानो मियाइनले हस्ताक्षर गरेका छन्।

Views: 303

प्रतिक्रिया (०)

सम्बन्धित खबर