

बिर्तामोड । झापा जिल्लाका बासिन्दाहरूका लागि गौरवको क्षण सुरु भएको छ । झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ (सर्वसाधारण सेयर) निष्कासन गर्न थालेको छ ।

स्थानीय पूँजी र जनसहभागितामा आधारित ऊर्जा उत्पादनमा अगाडि बढिरहेको झापा इनर्जी लिमिटेडले सिधा झापाली जनताको आर्थिक समावेशीकरण सुनिश्चित गर्न पहिलो चरणमा आफ्नै जिल्लावासीलाई सेयरमा सहभागी गराउने अवसर प्रदान गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी कुल ४ लाख ३७ हजार २१९ कित्ता शेयर निष्कासन गरेको छ । यसमध्ये प्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि १ लाख ९० हजार ९५ कित्ता, अप्रत्यक्ष प्रभावित क्षेत्रका बासिन्दाका लागि पनि यति नै संख्यामा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता सेयर छुट्याइएको छ ।


आवेदन समय सीमाः
प्रभावित क्षेत्रका बासिन्दाः साउन २८ गतेदेखि भदौ १२ गतेसम्म, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूः साउन १८ गतेदेखि साउन २८ गतेसम्म उक्त सेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ रहेको छ । न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
आवेदन प्रक्रियाः
आवेदन हिमालयन क्यापिटलमार्फत तथा सबै ASBA सदस्य बैंक, वित्तीय संस्था र मेरोशेयरबाट दिन सकिन्छ ।
झापालीका लागि अर्थपूर्ण कदम
झापा इनर्जी लिमिटेडले सेयर सार्वजनिक गर्दै गर्दा यसले झापालीहरूलाई स्थानीय ऊर्जा आयोजनामा लगानी गर्ने, आर्थिक लाभ लिने र स्वामित्वको अनुभूति दिने ठोस अवसर मिलाएको छ ।
ऊर्जा आत्मनिर्भरता र आर्थिक विकासको दिशामा झापा जिल्लाले चालेको यो कदमले सम्पूर्ण झापालीहरूलाई गौरव गर्न लायक बनाएको छ । झापा इनर्जीको सेयर लगानी केवल लाभ मात्र होइन, यो आफ्नै जिल्लाको समृद्ध भविष्यमा लगानी हो ।
फायल भिडियो

