

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खीर खाने पर्व पशुपालनको पुरानो संस्कृतिसँग साइनो गाँसिएको बताएका छन्। साउन १५ गते खीर खाने पर्वको अवसरमा आज शुभकामना दिँदै उनले पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको बताएका हुन्। उनले सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन्।

‘आज साउन १५, खीर खाने परम्परागत पर्व। हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए। पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ। जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ।’ओलीले शुभकामना दिँदै भनेका छन्,‘शुभ साउन १५१ सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् १’

वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन्।

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद्को भनाइ छ। ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ।।
नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ।
नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ। राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ।

