झापा । देशका विभिन्न स्थानमा वर्षायामसँगै सर्पदंशका घटनामा वृद्धि हुँदै गएपछि सर्वसाधारणलाई सर्पदंशसम्बन्धी जानकारी र सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन्। विषालु सर्पको टोकाइ ज्यानमारा हुन सक्ने भएकाले यसबारे समयमै चेतना आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

विशेषज्ञहरूका अनुसार, सर्पले डसेको हो कि होइन भन्ने कुरा तत्काल पत्ता लगाउन सकिएमा उचित उपचार गरेर ज्यान जोगाउन सकिन्छ।

सर्पले डसेको संकेतहरू (सामान्यतया देखिने लक्षणहरू) :
टोकेको चिन्ह (fang marks):
प्रायः दुईवटा सानो प्वाल छालामा देखिन्छन्। केही अवस्थामा एउटा वा तीनवटा दाँतको चिन्ह पनि देखिन सक्छ।

दुखाइ र सुन्निने समस्याः
डसेको स्थानमा तुरुन्तै दुखाइ सुरु हुने, रातोपन देखा पर्ने र सुन्निने हुन्छ। केही केसहरूमा त्यो भाग निलो–कालोसमेत देखिन्छ।
छाला र बाह्य असरहरूः
टोकिएको भाग हरियो, कालो वा बैजनी देखिन सक्नेछ। शरीरभर पसिना आउने, छालामा खुजली वा जलन हुने सम्भावना रहन्छ।
शरीरमा प्रणालीगत असरहरूः
टाउको दुख्ने, बान्ता आउनु, वाकवाकी लाग्नु, धड्कन तेज वा सुस्त हुनु, चक्कर लाग्ने, र श्वासप्रश्वासमा कठिनाई हुने अवस्था देखिन सक्छ।
रक्तस्रावसम्बन्धी समस्या (Viperine सर्पले डसेमा):
नाक, मुख वा दिसाबाट रगत आउन सक्ने तथा दिसा वा पिसाब कालो देखिन सक्ने लक्षण देखिन्छ।
नसा प्रणालीमा असर (Neurotoxic सर्पहरू – करैत, घोणस):
बोल्न गाह्रो हुने, आँखा नखुल्ने, डबल देखिने, शरीर थर्कने, र अन्ततः शरीर सुस्त हुँदै श्वासप्रश्वास बन्द हुने अवस्था सिर्जना हुन सक्छ।
सर्पले नडसेको वा विष नभएको संकेतहरूः
छालामा दाँतको चिन्ह नदेखिने। १–२ घण्टासम्म कुनै लक्षण नदेखिने। डसेको स्थानमा दुखाइ वा सुन्निने विशेष नदेखिने (मचथ दष्तभ को सम्भावना)।
गम्भीर अवस्थामा गर्नुपर्ने प्राथमिक उपचारः
व्यक्तिलाई शान्त राख्नुपर्छ। डसेको अङ्ग चलाउन नदिइ स्थिर राख्नुपर्छ। सर्पको फोटो खिच्न सके सहयोगी हुन सक्छ, तर खोज्न जानु जोखिमपूर्ण हुन्छ। तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा लैजानु अत्यावश्यक छ। सर्पदंशमा परम्परागत विधि – काट्ने, चुस्ने, बाँध्ने वा जडीबुटी लगाउनेजस्ता उपाय प्रयोग नगर्न सुझाव दिइन्छ।
सर्पदंश कुनै सामान्य चोटपटक होइन। सावधानी र सचेततामात्रै यसबाट हुने जटिलता कम गर्न सहयोगी बन्न सक्छ। स्वास्थ्यकर्मीहरू भन्छन् – “सर्पले टोकेको शंका लागेमा पनि विलम्ब नगरी अस्पताल जानु नै उत्तम हो।”

