

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संघ सरकारमा मन्त्री हेरफेर गर्ने विषयमा छलफल भइरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको छलफलमा कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन्। एमालेबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन्।

प्रधानमन्त्री ओलीले सरकारले एक वर्ष समय गुजारेपछि मन्त्रिपरिषद्मा उल्लेख्य फेरबदलको तयारी गरेका छन्। यसअघि नै मन्त्री फेर्न चाहे पनि कांग्रेसले नमान्दा सम्भव हुन सकेको थिएन ।

कमजोर कार्यसम्पादन भएका मन्त्रीबारे यसअघि नै ओलीले कांग्रेससँग एकचरण कुराकानी गरिसेकेका छन् । तर, एमाले मन्त्रीको सेट नै फेर्ने मनशायमा रहँदा कांग्रेस भने सबै मन्त्री फेर्ने पक्षमा छैन । यसबारे अहिले थप छलफल हुनेछ ।
कांग्रेस गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा एमाले अर्थमन्त्री विष्णु पौडेल र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ बाहेकलाई फिर्ता बोलाउने मनस्थितिमा छन् ।
छोटो समय मात्र भएकाले शिक्षामन्त्री रघुजी पन्त र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको मन्त्री पद पनि यथावत् रहनेछ । केही दिनअघि मात्र लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले समेत आफ्नो पार्टीबाट सरकारमा सहभागी श्रममन्त्री शरदसिंह भण्डारीलाई पदमुक्त गर्न पत्र पठाएका थिए।

