Aamsanchar

पानी बाँड्न ८ दमकल खरिद

Author Image
बिहिवार, साउन १५, २०८२
धनुषा –  तराईमा पानी वितरणका लागि मधेश प्रदेशको गृह मन्त्रालयमार्फत ८ वटा दमकल खरिद गरिएको छ। खरिद गरिएका आठमध्ये ६ वटा दमकल स्थानीय तहलाई हस्तान्तरण गर्ने आज निर्णय भएको छ। ती दमकलमार्फत स्थानीय तहबाटै सङ्कटग्रस्त क्षेत्रमा खानेपानी आपूर्ति सुनिश्चित गरिनेछ।  हाल सप्तरी र पर्सा जिल्लाको खानेपानी आपूर्ति गरिरहेका बाँकी दुईवटा दमकललाई सोही प्रयोजनमा लगाइने मधेसमा जलसङ्कट समाधानका लागि मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले निर्णय गरेको हो।
गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गत सो समितिको बैठकमा सङ्घीय सरकारबाट भइरहेका विपद्सम्बन्धी कामको प्रगतिमाथि समीक्षा भएको मन्त्रालयले जनाएको छ।
 साथै प्रदेश सरकारको आगामी कार्यदिशा तथा स्थानीय तहसँगको समन्वयमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रदेश गृहमन्त्री लेखीले जानकारी दिए।
बैठकले विपद् सङ्कटग्रस्त क्षेत्रमा खानेपानी तथा सिँचाइको व्यवस्था गर्न सङ्घीय सरकार र अन्य दातृ निकायबाट प्राप्त स्रोतसाधनलाई प्रभावकारी रुपमा प्रयोग गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयलाई कार्यान्वयनमा लैजान अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकले विपद् प्रभावित क्षेत्रमा कार्य प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सबै सरोकारवाला निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ।
त्यसैगरी, नेपाली सेनाले शान्ति मिसनबाट प्राप्त १७ वटा पानी ट्याङ्कर र एउटा ‘बम डिस्पोजल’ गाडीलाई प्रचलित कानुनअनुसार अस्थायी दर्ता गराउन प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने निर्णय पनि समितिले गरेको छ। गृहमन्त्री लेखीका अनुसार विपद् व्यवस्थापनलाई अझ सक्रिय, प्रभावकारी र दिगो बनाउन प्रदेश सरकारले आगामी दिनमा थप योजनाहरु कार्यान्वयनमा लैजाने निर्णय भएको छ। बैठकमा मधेस प्रदेशमा रहेका नेपाली सेनालगायत सरोकारवाला पदाधिकारीहरुको सहभागिता थियो ।
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर