

बिर्तामोड । नेवार समुदायको परम्परागत पर्व गाईजात्रा यसपालि झापाको बिर्तामोडमा पहिलोपटक विशेष कार्यक्रमसहित मनाइने भएको छ। नेवा : देय् दबू झापा जिल्ला कार्यसमितिको आयोजनामा, बिर्तामोड नगर समिति तथा नेवा : मिशा दबूको सहआयोजनामा साउन २४ गते गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिता सम्पन्न हुने कार्यक्रम तय गरिएको हो।

कार्यक्रम संयोजक तथा नेवा : देय् दबू कोशी प्रदेशका निवर्तमान अध्यक्ष इन्द्रबहादुर श्रेष्ठका अनुसार, उत्सवको प्रमुख आकर्षणका रूपमा व्यङ्ग्यात्मक साहित्यिक कार्यक्रम तथा परम्परागत लाखे नाच प्रतियोगिता हुनेछ।

प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम स्थान हासिल गर्ने टोलीलाई १० हजार रुपैयाँ, दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार र सान्त्वना स्वरूप सहभागी टोलीलाई जनही एक हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।


कार्यक्रममा नेवा : देय् दबू झापा जिल्ला अध्यक्ष यामबहादुर श्रेष्ठको स्वागत र सञ्चालन जिल्ला सचिव लक्ष्मणज्वेयल श्रेष्ठले गरेका थिए भने प्रचारप्रसार संयोजक ओमप्रकाश श्रेष्ठले तयारीबारे जानकारी दिएका थिए ।
कार्यक्रमको ऐतिहासिक पक्षबारे बोल्दै जिल्ला निवर्तमान अध्यक्ष भरत श्रेष्ठले गाईजात्रा नेवार समुदायको धर्म, संस्कृति, रीतिरिवाजको जीवन्त प्रतीक भएको उल्लेख गरे। “संस्कृति जोगाउन र नयाँ पुस्तामा स्थानान्तरण गर्न यो उत्सव बिर्तामोडमा आयोजना गरिएको हो,” उनले भने।
नेवास् : मिशा दबू झापा जिल्ला कार्यसमिति अध्यक्ष तीलरूपा श्रेष्ठले कार्यक्रमको समग्र जानकारी दिँदै स्थानीय सहभागिता उत्साहजनक हुने अपेक्षा गरिएको बताइन्।

