

बाह्रदशी । “निरन्तर सेवामा समर्पित” भन्ने मूल नारासहित त्रिपुरारि समूहको आयोजनामा आज बाह्रदशी गाउँपालिका–३ स्थित श्री पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

समारोहको अध्यक्षता समूहका ज्येष्ठ सदस्य नवीन भट्टराईले गरेका थिए भने प्रमुख अतिथिमा वडाध्यक्ष टंकप्रसाद शाहको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक थिरकुमार दाहाल, व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल राजवंशी, सदस्य युवराज राजवंशी, सह–प्रधानाध्यापक गुणनिधि लुइँटेल, राजगढ प्रहरी प्रमुख सरोज रेग्मी, प्रहरी जवान अशोक ताजपुरिया, बाह्रदशी सामुदायिक क्याम्पसका प्रमुख भेषराज बुढाथोकी, सहायक प्रमुख तेजप्रकाश पौडेल, पाथीभरा कालिका सामुदायिक वनका सहसचिव भरत ढकाललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा समूहका सदस्य रोशन भट्टराईले समुह गठनको उद्देश्य स्पष्ट पार्दै भने, “समाजमा भाइचाराको सम्बन्ध बढाउने, विपन्न तथा दुःखीहरूको पीडामा मलम लगाउने उद्देश्यले ११ जनाको समूह गठन गरेका हौं। आजको दिनमा वातावरण संरक्षण अत्यावश्यक भएकोले ‘एक व्यक्ति, एक बिरुवा’ नारालाई आत्मसात गर्दै हामीले फूल फुल्ने बुट्यान प्रजातिका बिरुवाहरू रोपेका हौं।”


विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षले पनि शुभकामना मन्तव्य राख्दै वातावरणीय सचेतना अभिवृद्धिमा यस्ता कार्यक्रम उपयोगी हुने धारणा राखे।
कार्यक्रममा जकाराण्डा, गुल्महर, कल्की लगायत बुट्यान प्रजातिका सयौं बिरुवा विद्यालय परिसरमा रोपिएको थियो। विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीयको सहभागिता रहेको कार्यक्रमको सहजीकरण समूहका सदस्य अर्जुन भट्टराईले गरेका थिए ।
कार्यक्रममा पाथीभरा कालिका सामुदायिक वनका सहसचिव भरत ढकाल र रोशन मिश्रले विशेष सहयोगीको भूमिका निर्वाह गरेको त्रिपुरारि समूहले जनाएको छ ।

