

झापा- बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौला र वडाध्यक्ष अजय कार्कीबीचको सामाजिक सञ्जालमा भएको विवादले राजनीतिक तापक्रम बढाएको छ। विवादको विरोधमा विभिन्न दलहरुले नाराजुलुससहित प्रदर्शन गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्तरूपमा उपप्रमुख संग्रौलाको कारबाहीको माग गर्दै बिहीबार नगरपालिका कार्यालयअगाडि विरोध प्रदर्शन गरेका हुन्।

बिरोध प्रदर्शनका क्रममा करिब ५०–६० जना सहभागी थिए। राप्रपा बिर्तामोड नगर अध्यक्ष लक्ष्मी गौतमको नेतृत्वमा नवदुर्गा मन्दिर परिसरबाट सुरु भएको र्याली नगरपालिका कार्यालयसम्म नाराबाजी गर्दै पुग्दा प्रहरीले गेटभित्र प्रवेश गर्न दिएन। त्यसपछि प्रदर्शनकारीले गेट बाहिर कोणसभा गर्दै आक्रोश व्यक्त गरे।

प्रदर्शनका क्रममा ‘सामाजिक सञ्जालको दुरुपयोग बन्द गर’, ‘अराजक उपमेयर मुर्दाबाद’, ‘सत्ताको आडमा गरिने गुण्डागर्दी बन्द गर’ लगायतका नारा लगाइएका थिए।
विरोध प्रदर्शनपछि स्थानीय राजनीतिक माहोल झनै तातिएको छ भने उपप्रमुख संग्रौलाले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

