Aamsanchar

उर्लंदो कालीगण्डकी : जोखिममा तटीय बस्ती, डुब्यो विश्वकै ठूलो शालिग्राम शिला

Author Image
आइतवार, साउन १८, २०८२

पर्वत ।  कालीगण्डकी आज फेरि उर्लिएकी छ। अघिल्लो रातको अबिरल वर्षा सँगसँगै आज बिहान नदीको गर्जनले तटीय बस्तीहरू थर्कमान बनायो। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको भीषण वर्षाले नदीको मुहानहरू बगेका छन्—रातभर छटपटिएर बगेका पानीले आज बिहान कालीगण्डकीलाई यति क्रुद्ध बनायो कि उसले आफ्नो बाटो भुलेझैँ गर्दै आसपासका भूभागलाई निल्न थाल्यो।

गेजरिडर कृष्णप्रसाद सुवेदीको आँखाले आज बिहान मापन गरेको बहाब ६ मिटर ४० सेन्टिमिटर पुगेको थियो—यो वर्षकै सबैभन्दा उच्च। बिहान केही बेर ७।४० मिटरको सतहमै पुगेकी थिइन्, कालीगण्डकी। यस्तो बहाब, जहाँ तटीय गाउँका आमा(बुबा, बच्चा, किसान, पण्डित—सबैको मन एकैपटक चिसो भयो।

जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट—यी ठाउँहरू आज बिहान सुतिरहेको बखत आफैं जलसँग जुरुक्क उठे। कुश्माको मालढुङ्गा, मोदीबेणी, नयाँपुल हुँदै फलेवासको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजारसम्म खतरा फैलिएको छ।

तर सबैभन्दा हृदयविदारक दृश्य देखियो—विश्वकै ठूलो शालिग्राम शिला डुबेको खबरसँगै।

तीर्थ यात्रुहरू पूजामा झुकेका थिए, तर आज उनीहरू शालिग्राम शिला देख्न सकेनन्। पानीको गर्जनभित्र हरायो त्यो शान्त स्वरूप। शिला जोगाउन बनाइएका ग्याबियन र तटबन्ध पानीले लत्यायो, ध्वस्त पारिदियो दर्शन गर्ने बाटाहरू। पुजारी तिलक पराजुलीको स्वर पीडाले भरिएको थियो—ूअब दर्शन गर्न त सकिँदैन, शिला नै डुब्यो।ू

उता, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध पनि आफूलाई सम्हाल्न सक्ने स्थितिमा छैन। ढोका सबै खोलिएका छन्, तर नदीको रिस अझै शान्त भएको छैन। सेतीवेणीबजारको व्यापारिक क्षेत्रभर त्रास फैलिएपछि दुई सयभन्दा बढी व्यापारी र सर्वसाधारण घर–दुकान छोडेर जोगिने बाटो हेरिरहेका छन्।

१६ वर्षअघिको सम्झना ताजै बनाइदियो यो बहाबले।
२१ असोज २०६६—त्यही दिन, यस्तै गरी बाढी आयो, बजार डुबायो, तीन दर्जन परिवार विस्थापित भए। व्यापारी विष्णु न्यौपाने त्यही दिन सम्झन्छन्, आँखामा पीडा लिएर भन्छन्—‘त्यो पीडा कहिल्यै मेटिँदैन, आज फेरि उस्तै डर ।’

शालिग्राम शिला अहिले पानीको गर्जनभित्र छ—शान्त, मौन। उसले हेरेको होला—कसरी मानिसहरू फेरि त्रासमा छन्, कसरी तीर्थ टाढिएको छ, र कसरी नदी फेरि आफ्नो सीमाना पार गरेर सहरको ढोका ढकढक्याइरहेकी छ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर