Aamsanchar

नेपालको ल्याब रिपोर्टलाई अन्तर्राष्ट्रिय मान्यता

Author Image
आइतवार, साउन १८, २०८२

काठमाडौँ – नेपाल सरकारको कृषि तथा पशुपंन्छी विकास मन्त्रालय अन्तरगतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशालालाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको छ ।विभागको प्रयोगशालाले भारतको नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ एन्ड क्यालिब्रेसन ल्याब्रोटोरिज (एनएबिएल) र फुड सेफ्टी एण्ड स्टाण्डर्ड अथोरिटी अफ इन्डिया (एफएसएसआई) दुवैबाट ६८० वटा प्यारामिटरका लागि ‘एकीकृत प्रत्यायन प्रमाणपत्र’ समेत प्राप्त गरेको हो ।

यसअघि नेपाल र भारतबिच भएको समझदारी अनुसार, भारतको एफएसएसआइले पहिलो चरणमा जुस, जाम, जेली, अचार, अदुवा, क्यान्डी, तयारी चाउचाउ, ताजा तरकारी एवं फलफूल सहित ८ प्रकारका खाद्य पदार्थका लागि विभागको परीक्षण प्रमाणपत्रलाई मान्यता दिइसकेको छ । अब विभागले एक्रिडिटेशनको दायरा फराकिलो भएको आधारमा सबै २२ प्रकारका खाद्य पदार्थ समूहको निर्यातका लागि मान्यता दिन एफएसएसआइलाई पत्राचार समेत गरेको छ ।

यो सँगै नेपालको खाद्य परीक्षणमा ऐतिहासिक फड्को मारेको विभागले दाबी गरेको छ । विभागले यस वर्ष आफ्नो परीक्षणको दायरा (एक्रिडिटेशन स्कोप) २८६ बाट व्यापक विस्तार गरी ८१४ प्यारामिटरमा पुर्‍याएको हो ।

यो उपलब्धिसँगै विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला(एनफफआरएल)नेपालकै सबैभन्दा धेरै परीक्षणमा अन्तर्राष्ट्रिय मान्यता पाउने सरकारी खाद्य प्रयोगशाला बनेको छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार विस्तारित ८१४ प्यारामिटरमा ६७२ वटा केमिकल तथा १४२ वटा माइक्रोबायोलोजिकल परीक्षण समावेश छन् । यसमा जीवनाशक विषादी अवशेष १२३ वटा, खाद्य रंग ११, हेभी मेटल्स १९, अफ्लाटक्सिन ८ जस्ता अत्यन्त संवेदनशील र महत्त्वपूर्ण परीक्षणहरू समेत थपिएका छन् । यसले खाद्य वस्तुको गुणस्तर र स्वच्छता सुनिश्चित गर्न ठुलो मद्दत पुग्ने महर्जनले बताए ।

विगतमा सन् २०१२ मा २७ वटा प्यारामिटरबाट सुरु भएको प्रयोगशालाको एक्रिडिटेशन यात्रा सन् २०२४ सम्म २८६ मा सीमित थियो। तर यसै वर्ष एकै पटक ५२८ वटा नयाँ प्यारामिटर थपिनुलाई विभागले कोशेढुंगाको रूपमा लिइएको विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले बताए ।

निर्यातमा सहज

यो सफलताले खाद्य तथा कृषिजन्य वस्तुको निर्यातमा थप सहजीकरण तथा प्रवर्द्धन हुने कर्णले बताए । अब नेपाली प्रयोगशालाले जारी गरेको परीक्षण प्रतिवेदन ९सिएओ० र खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाणपत्रलाई भारतीय निकायले सिधै मान्यता दिनेछन् ।

यसबारे भारतले आदेश नै जारी गरिसकेको विभागले जनाएको छ । विभागका अनुसार अब नेपाली खाद्य पदार्थ भारत निर्यात गर्दा क्वारेन्टाइन वा परीक्षणका नाममा हुने ढिलासुस्ती र झन्झट अन्त्य देखिन्छ ।

Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर